• मंसिर १२ २०८१, बुधबार

रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिगमा रोमाञ्चक जित निकाल्यो

बैशाख १० २०८०, आईतवार

काठमाडौं  । रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोमाञ्चक जित निकालेको छ । लिगको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सलाई बैंग्लोरले सात रनले पराजित गरेको हो ।

१९० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८२ रन मात्रै बनाएपछि घरेलु टिम बैंग्लोरले जित निकालेको हो ।

राजस्थानका लागि देभदुत पाडिकलले ३४ बलमा ५२, याशास्वी जैसवालले ४७, ध्रुव जुरेलले अविजित ३४, कप्तान सन्जु सामसनले २२ र रविचन्द्रन अश्विनले १२ रन बनाए । बलिङतर्फ हर्षल पटेलले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८९ रन बनाएको थियो । खराब सुरुवात गरेको बैंग्लोरका लागि फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले टिमलाई उकासेका थिए ।

म्याक्सवेलले ४४ बलमा ६ चौका र चार छक्का प्रहार गर्दै ७७ रन बनाए । त्यस्तै, ३९ बलमा आठ चौका र दुई छक्का प्रहार गरेका प्लेसिसले ६२ रन बनाए । बलिङतर्फ ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान २–२ विकेट लिए ।

यो जितसँगै बैंग्लोर लिगको पाँचौँ स्थानमा उक्लिएको छ । बैंग्लोरले सात खेलबाट आठ अंक बनाएको छ । पराजित भएको सात खेलबाट आठ अंक बनाएको राजस्थान रोयल्स शीर्ष स्थानमा छ ।