• मंसिर १५ २०८१, शनिबार

काम गरेको ज्याला २ वर्षसम्म नपाएपछि श्रमिकले पुल बन्द गरिदिए

बैशाख १० २०८०, आईतवार

काठमाडौं । पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुङ्गे पुलबाट आउजाउ गर्न बन्द गरिदिएका छन् । दुई वर्षअगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका-१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय मजदुरले काम गरेको ज्याला नपाए पछि पुल बन्द गरेका हुन् ।

गाउँपालिकाको २ करोड १० लाख लागत रहेको ३९० मिटर लम्बाइ भएको उक्त पुलको वि.सं. २०७६ मा निर्माण सुरु भएको थियो । दुई वर्षभित्र पुल निर्माण गर्नुपर्ने समय सीमा रहेको पुलमा अहिले पनि लोड टेस्ट लगायतका काम बाँकी रहेकाले अन्तिम किस्ता भुक्तानी हुन बाँकी रहेको गाउँपालिका-१ का वडाध्यक्ष जीतबहादुर बमले बताए ।

पुलमा केही संरचनाको प्राविधिक परीक्षणमा त्रुटिसमेत भेटिएको र पुलको छेउतिरको एक लठ्ठासमेत खुस्किएको अध्यक्ष बमको भनाइ छ । पुल निर्माणको भौतिक काम सम्पन्न भएको दुई वर्ष समय हुँदासमेत ठेकेदार कम्पनीले श्रमिकको ज्याला भुक्तानी नगरेको भन्दै स्थानीय श्रमिकले शुक्रबारदेखि पुल बन्द गरेको दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बडालले बताए । पटक-पटक काम गरेको ज्यालाका लागि आग्रह गर्दा पनि ज्याला नपाए पछि पुल नै बन्द गर्नुपरेको श्रमिक मजदुरहरूको भनाइ छ ।

झोलुङ्गे पुलको दुवैतिर तारजाली र जस्तापाता लगाएर बार लगाइएको छ । पुल बन्द भएपछि जिल्ला सदरमुकाम खलङ्गा आउने र काम विशेषले गाउँपालिकाको कार्यालयसम्म जाने नागरिकलाई दुई घण्टा लामो बाटो भएर जानुपर्ने अवस्था सिर्जना भएको स्थानीय नवीन जोशीले गुनासो गरे ।

निर्माणको जिम्मेवारी पाएको जगदम्बा दोभान कन्सट्रक्सनले श्रमिकको ज्याला अझैसम्म नदिनुका कारण भने खुलेको छैन । निर्माण कम्पनीको अन्तिम चरणको भुक्तानीसमेत लिन बाँकी रहेको दुहुँ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताए ।

गाउँपालिका-१, २ र ५ का स्थानीयले उक्त पुल निर्माणको समयमा मजदुरी गरेका थिए । निर्माण सम्पन्न भइसकेको अवस्थामा मजदुरको ज्याला नदिइ ठेकेदार कम्पनी सम्पर्कविहीन भएको स्थानीय नरेन्द्र जोशीले बताए ।

यसअघि स्थानीयले पटक-पटक आफूहरूले काम गरेको ज्याला पाउनुपर्ने भन्दै गाउँपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै स्थानीय मजदुर आक्रोसित भएका छन् ।