काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रले अझैपनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयासमा रहने गरेको बताएका छन् । शनिवार राजधानीमा आयोजित आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले सरकार पनि निजी क्षेत्रलाई पाएसम्म दबाउनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुन नसकेको बताए ।
उनले निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोचबाट राज्य मुक्त हुनुपर्ने बताए । उनले दुवैतर्फबाट यस्ता अनुचित सोच नत्यागेसम्म अर्थतन्त्रले गति लिन नसक्ने बताए ।
उनले भने, ‘निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोचबाट राज्य पनि मुक्त हुन जरुरी छ । निजी क्षेत्रले पनि राज्यलाई यो हामीलाई मात्रै दबाउने वा अँठ्याउने वा निचोर्ने संस्था हो भन्ने सोचबाट मुक्त हुन जरुरी छ । राज्य पनि निजी क्षेत्रलाई दबाउने भन्ने मानसिकतामा हुन्छ भने निजी क्षेत्र पनि मौका पाएसम्म राज्यलाई करमा हुन्छ कि अन्य के मा हुन्छ छल्ने र अघि जाने भनेको जस्तो मानसिकता अझै बदलिएको छैन । यो सोचमा बदलाव नआइकन हुँदैन ।’
प्रधानमन्त्री दाहालले अहिले विचार, सिद्धान्त, राजनीति, मूल्य, मान्यताको कुरा बिस्तारै हराउँदै उपभोक्तावादतिर समाज गइरहेको बताए । उनले राजनीति र समाज नै राष्ट्र, समाज र आम जनताको दीर्घकालीन हीततिर भन्दा तत्काल नाफा नोक्सानतिर केन्द्रित हुने गरेको आरोप लगाए ।
‘आजभोलि त विचार, सिद्धान्त, राजनीति, मूल्य, मान्यताको कुरा बिस्तारै बिस्तारै हराउँदै उपभोक्तावादतिर तत्काल नाफा नोक्सानतिर, राष्ट्र, समाज र आम जनताको दीर्घकालीन हीततिर भन्दा तत्कालीन विषयतिर जान थालेको छ’, उनले भने, ‘राजनीतिमा पनि राजनीतिक एजेण्डातिर भन्दा आवेगतिर सेन्टीमेण्टतिर जाने हो की भन्ने खतरा देखापरेको छ । त्यसैले पहिला त हामीले हाम्रो नेपाली सोच भनेको के हो ? हामीले पुँजीवादले विकास गरेका नवउदारवादसम्मका कुरादेखि लिएर बजारमुखी अर्थतन्त्रका कुरादेखि लिएर समाजवादले विकसित गरेका सामाजिक न्यायसँग सम्बन्धित कयौँ कुरालाई पनि आत्मसाथ गरेर हामीले संविधानमा व्यवस्था गरेका छौँ । एकातिर राजनीतिक बहुदलीय प्रतिष्पर्धाको राजनीतिक प्रणाली भनेका छौँ भने अर्कोतिर हामी समाजवादउन्मुख राज्यको परिकल्पना पनि संविधानमा नै गरेका छौँ ।’