काठमाडौं । स्पेस एक्स कम्पनीले मंगल ग्रहमा पठाउनका लागि बनाएको स्टारसिप रकेटको पहिलो परीक्षण असफल भएको छ ।
विश्वमा हालसम्म बनेको रकेटमध्यकै सबैभन्दा ठूलो र शक्तिशाली रकेट स्टारसिप हो । अमेरिकी राज्य टेक्ससको दक्षिणी क्षेत्रबाट स्थानीय समयअनुसार बिहान साढे ९ बजे स्टारसिपको उडान परीक्षण गरिएको थियो ।
यसअघि स्टारसिपको माथिल्लो भाग स्पेसक्राफ्ट कयौंपटक परीक्षण गरिँदा वर्षौको प्रयासपछि त्यो भागले सफल उडान भरेर जमिनमा सफलतापूर्वक अवतरण गरेको थियो । अहिले पुरै स्टारसिपको परीक्षण पहिलोपटक भएको हो जनु असफल हुनपुग्यो । रोयटर्सका अनुसार दुई तह भएको स्टारसिपमा सुपर हेभी बुस्टर र स्टारसिप स्पेसक्राफ्ट छन् ।
यसको लम्बाई १२० मिटरको छ, जुन स्ट्याच अफ लिबर्टीभन्दा लामो हो । स्पेस एक्सका अनुसार रकेट ३९ किलोमिटर माथि पुगेर विस्फोटन भयो । परीक्षणका क्रममा ९० मिनेटसम्म यस रकेट टिक्ने अनुमान थियो तर चार मिनेटभन्दा कम समयमै रकेट विस्फोटन हुन पुग्यो ।
सुपर हेभी बुस्टरबाट स्टारसिप स्पेसक्राफ्ट नछुटिँदा रकेट परीक्षण असफल भएको कम्पनीका मालिक इलोन मस्कले बताएका छन् । मस्कले आफ्ना वैज्ञानिकहरुले यस परीक्षणमा भएको कमजोरी पत्ता लगाएर अर्को परीक्षणको तयारी सुरुवात गर्ने बताएका छन् । परीक्षण असफल भएता पनि उनी खुशी देखिन्थे ।
आफ्नो रकेट पहिलो परीक्षणमै धेरै माथिसम्म उड्न सकेको उनको भनाइ छ । आफूले हिम्मत नहार्ने र चाँडै नयाँ परीक्षण मिति घोषणा गर्ने पनि मस्क बताउँछन् ।