काठमाडौं । नेपालका सन्दीप लामिछानेले क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान बनाएका छन् । एसीसी प्रिमियर लिगअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी ओमानविरुद्धको खेलमा एक विकेट लिएसँगै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा अफगानिस्तानका बलर राशिद खानको सबैभन्दा छिटो एक सय विकेटको विश्व कीर्तिमान तोडेका हुन् ।
सन्दीपले ४२ खेलबाट १०० विकेट लिएका छन् । उनले ओमानका अदिल सफिकलाई आफ्नो ओडीआई करिअरको १००औँ सिकार बनाए ।
राशिदले ४४ खोलमा १०० विकेटको विश्व कीर्तिमान राखेका थिए । उनले सन् २०१८ मा वेष्ट इन्डिजविरुद्ध एक विकेट लिएसँगै यस्तो विश्व रेकर्ड राखेका थिए । उनले यसअघि अस्ट्रेलियाका मिचेल स्टार्कको रेकर्ड तोडेका थिए । स्टार्कले २०१६ मा ५२ खेलबाट सय विकेट पूरा गरेका थिए ।