• मंसिर १५ २०८१, शनिबार

रुसले नेपाललाई हेलिकाेप्टरदेखि खाद्यान्न र रासायनिक मल उपलब्ध गराउने

बैशाख ८ २०८०, शुक्रबार

काठमाडौं । रुस भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिन र रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोबीचको भेटमा नेपाललाई खाद्यान्न, रासायनिक मल, हेलिकप्टर र मोटरसाइकल उपलब्ध गराउने विषयमा छलफल भएको छ ।

रसियन सञ्चारमाध्यमले उपप्रधानमन्त्री कार्यालयलाई उद्धत गर्दै लेखेको समाचार अनुसार नेपालमा र चेस प्रतियोगिता आयोजना गर्ने विषयमा पनि छलफल भएको छ ।

भेटवार्तामा नेपाल र रुसबीचको सीधा हवाई सेवा सुचारु गर्ने, रुसमा नेपाली विद्यार्थीको उच्च शिक्षाका लागि कोटा बढाउने, सब-वे, रेलमार्ग, मोटर-वे, जलविद्युत आयोजनाका लागि पूर्वाधार निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो ।

उप्रप्रधानमन्त्री चेर्निसेन्कोको भनाई उद्धृत गर्दै रसियन सञ्चारमाध्यममा भनिएको छ, ‘तपाईंको भ्रमण एउटा उल्लेखनीय कार्यक्रम बन्ने र रुस-नेपालबीचको अन्तरक्रियालाई प्रोत्साहन दिने विश्वास छ । नेपाल दक्षिण एसियामा रुसको लामो समयदेखिको साझेदार हो, जनताबीच मित्रताको बलियो सम्बन्ध छ । सधैं समानता र पारस्परिक सम्मानको आधारमा निर्माण गरिएको हो ।’

रुस भ्रमणमा रहेको अध्यक्ष तिमल्सिनाले माथिल्लो सभा र तल्लो सभामा अध्यक्षसँग पनि भेटवार्ता गरेका छन् ।