• फाल्गुन २७ २०८२, बुधबार

रुससित लड्न अमेरिकाले युक्रेनलाई ३२५ मिलियन डलर बराबरको हतियार दियो

बैशाख ७ २०८०, बिहीबार

काठमाडौं । अमेरिकाले बुधवार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ ।

प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि थप तोप राउन्ड र रकेटहरू लगायतका युद्ध सामग्री रहेका छन् । भ्वाइस अफ अमेरिकाले उल्लेख जनाए अनुसार युक्रेनले उच्च दरमा तोपखाना हतियारहरू चलाउन पर्ने भएकाले यो सहायता घोषणा गरिएको हो ।

सो प्याकेजको घोषणा हुनुअघि रक्षा अधिकारीहरूले उक्त नवीनतम सहायतामा एन्टी ट्याङ्क निर्देशित मिसाइलहरू, एन्टी–ट्याङ्क माइनहरू र एटी–४ एन्टी–आर्मर हतियारहरू पनि समावेश रहेको बताए । उक्त युद्ध सामग्रीहरू युक्रेनद्वारा कब्जा गरिएका क्षेत्रहरूमा रहेका रूसी स्थल सेनाहरूलाई पछाडि धकेल्न आवश्यक हुने बताइएको छ ।

युक्रेनको स्थलसेना प्रमुखका अनुसार रुसले युद्धमा उल्लेखनीय क्षति बेहोरेर पनि पूर्वी युक्रेनी शहर बाख्मुतमा भने भारी तोपखाना र हवाई आक्रमण बढाइरहेको पनि अमेरिकी अधिकारीहरूको बुझाइ छ ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अन्तरराष्ट्रिय मुद्रा कोष आईएमएफ र विश्व बैंकका प्रमुखहरूलाई विश्वभर रहेको रूसी केन्द्रीय बैंकको सम्पत्ति जफत गर्न र युक्रेनको पुनर्निर्माणमा मद्दत गर्न आह्वान गरेका छन् ।

बुधवार स्थानीय समयमा विश्व बैङ्क र आईएमएफद्वारा आयोजित भर्चुअल गोलटेबलमा, जेलेन्स्कीले सो आह्वान गरेका हुन् । साथै विश्व बैङ्कले युक्रेनको ऊर्जा पूर्वाधार मर्मत गर्ने परियोजनाको लागि आज २०० मिलियन अमेरिकी डलर अनुदान घोषणा गरेको छ ।