विश्व व्यापारमा अन्य साझेदार तथा प्रतिस्पर्धी देशहरूको बढोत्तरी भएसँगै अमेरिकी डलर घेरामा पर्दै गएको छ । यसको छनक अमेरिकाले पनि दिइसकेको छ । अमेरिकी अर्थतन्त्रमा आइरहेको उतारचढाव र कतिपय वैंकहरू टाट पल्टिदै गएपछि अमेरिकी डलर प्रयोगमा पनि क्रमशः उतार आउँदै गइरहेको छ ।
यो भन्दा पहिले संसारमा सूर्य नअस्ताउने देशका रूपमा रहेको बेलायत र उसको स्टर्लिङ पाउण्डको हाइहाइ थियो । स्टर्लिङ पाउण्ड ‘फ्रिजिङ मनी’का रूपमा खुम्चदै र साँघुरिदै गएपछि र दोस्रो विश्वयुद्धपछि विश्व अतिमहाशक्तिका रूपमा अमेरिकाको उदय हुँदै गएपछि अमेरिकी डलरले पूर्णरूपमा विश्व बजारमाथि अधिपत्य जमाउन पुगेको थियो ।
दोस्रो विश्वयुद्ध सकिएपछि विश्वलाई नयाँ भुक्तानी प्रणालीको निकै खाँचो परिसकेको थियो । उता १९४० देखि १९७० सम्म सामूहिक विश्वव्यापी भुक्तानी प्रणाली प्रयोगमा रहेको थियो । चालु प्रणालीमा बेलायती स्टर्लिङ पाउण्ड, इटालीको लिरा, जापानी येन र जर्मनको मुद्रासँग अमेरिकी डलरको स्थिर विनिमय तोकिएको थियो ।
दोस्रो विश्वयुद्धदेखि विश्वको ‘सुपर पावर’ बनेको अमेरिकाले विश्वव्यापी भुक्तानी प्रणालीमा अमेरिकी डलरको प्रयोग बढाउन प्रस्ताव गरेको थियो । विश्वका अधिकांश देशले डलरलाई विश्वास गरेर वैदेशिक व्यापार भुक्तानीको माध्यमका रूपमा स्वीकार गरे । अब डलरमा सुन र तेल विक्रि हुन थाल्यो । अमेरिकाले मनलाग्दी डलर छापेर विश्वभर वितरण गर्न थाल्यो । त्यसपछि खाडी मुलुकहरू अमरिकाका लागि अनिवार्य हुन गए ।
अहिले अमेरिकी डलर विश्वमा अनिवार्य जस्तो भए पनि यसको प्रचलनमा विस्तारै कमी आउँदै गरेको छ । रसियाले छिमेकी युक्रेनमाथि सैन्य हमला सुरू गरेपछि अमेरिकाले रसियालाई कारबाहीस्वरूप डलरको भुक्तानी प्रणालीबाट बाहिर निकालेको छ । तर रूसको रूवलमा क्रमशः सबलीकरण आउन थालेपछि अमेरिकी डलरले थप गाह्रोसाँगुरो बेहोर्दै गइरहेको छ ।
अमेरिकी डलर नाकाबन्दीपछि रूसमा रहेको अनुमान गरिएको करिब ६०० अर्ब अमेरिकी डलर कागजमा परिणत भएको भनिए पनि रूसका कुनै पनि वैंकमा यसको सामान्य प्रभाव परे पनि बन्द भने कोही पनि भएनन् ।
यसको स्वष्ट अर्थ हो, रूवलको व्यापारमा बढोत्तरी आउन थालिसक्यो । अर्कोतिर जापानी येन, चिनियाँ युआन तथा अरब देशका मुद्राहरू पनि क्षेत्रीय व्यापारमा बलिया हुँदै गइरहेका छन् । युरो डलरले पनि अमेरिकी डलरमा धक्का दिएको छ ।
हालैमात्र रूसले चीनसँग मिलेर ‘क्रस बोर्डर ट्रान्सफर सिस्टम’को सुरूआतसहित चिनियाँ युआन र चीनमा रसियन रूबलको कारोबार गर्न थालिसकेका छन् । हालैका दिनमा चीन र भारतलाई रूबलमा पेट्रोलियम पदार्थ बिक्रि थालेपछि विगत ५० वर्षदेखि पेट्रोलियम पदार्थको बिक्रिमा एकाकधिकार कायम गर्दै आएको अमेरिकी डलरको वर्चस्व लगभग अन्त्य हुन थालेको छ । चीन र भारत रूसका सबैभन्दा ठूलो तेल आयात गर्ने देशहरू हुन् ।
पछिल्लो समयमा डलरको विकल्पको खोजीमा चीन, रसिया र भारतहुँदै साउदी अरब, संयुक्त अरब इमिरेट्स, ब्राजिल, बंगलादेश, मलेसिया, लाओस, ब्रुनई, कम्बोडिया, इण्डोनेसिया, फिलिपिन्स, म्यानमार, सिंगापुर, थाइल्याण्ड, भियतनाम, दक्षिण अफ्रिका, फ्रान्स र भेनेजुयला, केन्या, अर्जेन्टिना, क्यूबा, घाना, मंगोलिया, पाकिस्तान र टर्की समेत एक ठाउँमा उभिने वातावरण बन्दै गइरहेको छ ।