काठमाडौं । हामीले अन्तरिक्ष सम्बन्धी चलचित्रहरू त हेरेका छौँ । अन्तरिक्ष बारे दर्जनौँ चलचित्रहरू विश्वभर निर्माण गरिएका छन् तर, वास्तविक रूपमा हालसम्म अन्तरिक्षमा गएर चलचित्रको छायांकन भने भएको थिएन । यतिबेला रुसको ‘द च्यालेन्ज’ नामक चलचित्रले अन्तरिक्षमा आफ्नो फिल्मको छायांकन गरेर इतिहास रचेको छ ।
रुसी चलचित्र ‘द च्यालेन्ज’ विश्वमै पहिलोपटक अन्तरिक्षमा छायांकन गरिएको चलचित्र बनेको हो । यस चलचित्र निर्माण टोलीका सदस्यहरूले सोमबार रुसको राजाधानी मस्कोमा चलचित्रबारे जानकारी दिन पत्रकार सम्मेलन गरेका थिए । यस चलचित्र आगामी जून १ मा विश्वभर रिलिज हुनेछ ।
यो चलचित्र अमेरिका, रुस, क्यानडा र जापानको स्वामित्वमा रहेको ‘इन्टरनेसनल स्पेस स्टेसन’ आईएसएसमा छायांकन गरिएको थियो । आईएसएस विश्वमा यतिबेला अन्तरिक्षमा रहेको एक मात्र स्पेस स्टेसन हो ।
चलचित्रका निर्माता कोन्स्टान्टिन अर्नेस्टले चलचित्र छायांकन गरिएको इन्टरनेसनल स्पेस स्टेसनलाई धन्यवाद दिएका छन् । उनका अनुसार दर्शकहरूले चलचित्र हेर्दा अन्तरिक्षमै पुगेको अनुभव गर्नेछन् । जून १ मा विश्वभर रिलिज हुनुपूर्व यो चलचित्र रुस नियन्त्रित युक्रेनी भूभाग र सर्बियामा देखाइनेछ ।
यो चलचित्र चीनमा देखाउन चिनियाँहरूसँग आफूहरूले कुराकानी गरिरहेको पनि चलचित्रका निर्माता बताउँछन् । चलचित्रमा अभिनेत्री युलिया पेरेसिल्डले डाक्टरको भूमिका निभाएकी छिन् । एक अन्तरिक्षयात्रीको जीवन बचाउन उनलाई स्पेस स्टेसन पठाइएको कथा चलचित्रमा समावेश छ ।
रूसी अन्तरिक्ष यात्री एन्टोन स्कापलेरोभले पनि यस चलचित्रमा अभिनय गरेका छन् । आफू अन्तरिक्ष यात्री भए पनि अन्तरिक्ष यात्रीको भूमिकामा अभिनय गर्न निकै कठिन भएको उनी बताउँछन् ।