• फाल्गुन २८ २०८१, बुधबार

गर्मीमा अनुहारको यसरी गर्नुस् हेरचाह

बैशाख ३ २०८०, आईतवार

गर्मीमा चर्को घामले छाला डढ्ने, मेकअप बग्ने, पसिना बढी आउने, चिलाउनेलगायत अनेकौं समस्या पनि देखा पर्छन् । गर्मीले सबैभन्दा बढी असर महिलाको मेकअपमा पार्छ । गर्मी मौसममा मेकअप धेरै समयसम्म टिक्न गाह्रो हुन्छ ।  यस्तो समस्याबाट जोगिन सकेसम्म शरीरको देखिने भागलाई घामबाट डढ्नबाट बच्न पूरा बाहुला भएको पहिरन लगाउनुपर्छ ।

गर्मीमा सेतो वा हल्का रङका पहिरनको प्रयोग उचित हुन्छ । साथै सकेसम्म सनग्लास प्रयोग गर्नुपर्छ । गर्मीमा कपाल भरसक छोटो राखेको नै राम्रो । छोटो कपाललाई स्याहार्न सजिलो हुन्छ । गर्मीमा कपाल झर्ने समस्याले पनि त्यत्तिकै सताउँछ । धेरै कपाल झरेमा नियमित तेल मालिस गर्ने र कपालमा दहीको प्रयोग पनि गर्न सकिन्छ । कपालमा हाँगा फाँट्ने समस्या पनि त्यस्तै देखिन्छ । त्यसका लागि २० दिनको अन्तरालमा कपाललाई एकपटक ट्रिमिङ गर्ने । कपाललाई स्याम्पूले धोएपछि कागतीको रस वा गुलाबजल मिलाएको पानीले धुने गर्नुपर्छ । यसो गर्दा कपालमा पसिनाको गन्ध आउँदैन ।

चर्को घाममा छालालाई शीतलता प्रदान गर्न दहीको फेस प्याक प्रयोग गर्नुपर्छ । यसका लागि एक चम्चा दहीमा एउटा सानो चम्चा चन्दन पाउडर मिसाउने र तयार भएको फेस प्याकलाई मुहारमा राम्रोसँग लगाएर १० मिनेटपछि चिसो पानीले पखाल्ने । यसबाट फ्रेस महसुस गर्न सकिन्छ । काँक्राको केही टुक्रालाई मिक्सरमा हालेर पेस्ट बनाउने । त्यसमा थोरै सख्खर मिसाएर केही समयका लागि फ्रिजमा राख्ने । यो पेस्टलाई मुहारमा लगाएर सुकेपछि रगडेर निकाल्ने । परिणाम डेड स्किनको लेयर हट्छ । एउटा ठूलो चम्चा कागतीको रसमा थोरै मात्रामा मह मिसाएर पेस्ट तयार पार्ने । उक्त पेस्टलाई कटन बलको सहायताले मुहार तथा घाँँटीमा प्रयोग गर्ने । २० मिनेटपछि चिसो पानीले मुहार तथा घाँटी पखाल्ने । यसबाट छाला कस्सिन्छ र त्यसमा ग्लो समेत देखापर्छ ।

गर्मीमा छालाको स्याहारमा प्रशस्त पानी पिउनु नै सबैभन्दा उपयोगी हुन्छ ।  सन प्रोटेक्सन क्रिम हरेक दिन ४ पटक प्रयोग गर्नुपर्छ ।  बजारमा विभिन्न प्रकारको सन प्रोटेक्सन क्रिम उपलब्ध हुन्छन् । तर गुणस्तरीय उत्पादन मात्र प्रयोग गर्नुपर्छ । क्रिम प्रयोग गर्नुभन्दा पहिले आफ्नो छालाको प्रकृति हरेर मात्र प्रयोग गर्नुपर्छ ।