वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले सुनको पिञ्जडामा कैद भएको महसुस गरिरहेका छन् । नयाँ वर्ष २०८० को पहिलो दिन कार्यकर्तालाई आफ्नै पार्टी कार्यालय पेरिसडाँडामा शुक्रवार बिहान भेट्दा प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको स्पष्ट सङ्केत गरेका छन् ।
यसलाई रोक्न सकिने वा नसकिने उपायका बारेमा उनले केही नबोले पनि उनकै भाषामा ‘संविधानतः आत्मसात् गरी कार्यान्वयनमा आइसकेका कुरालाई पनि तर्क/वितर्कको सहारा लिएर’ असफल बनाउने र ‘उल्ट्याउन खोज्ने प्रयास’ भइरहेको उनको स्वीकारोक्ति छ ।
पेरिसडाँडास्थित पार्टी कार्यालयमा आफ्नै कार्यकर्ताहरूसँगको साक्षात्कारमा प्रधानमन्त्री प्रचण्डले यी कुरा बोलेपछि यथार्थता लुक्ने लुकाउने ठाउँ रहेन । उनले परिवर्तनलाई विफल तुल्याउन भइरहेको कामप्रति सजग रहन कार्यकर्तालाई निर्देश गरे पनि यसका बारेमा खास नीति, योजना र कार्यक्रमको भने खुलासा गर्न सकेका छैनन् ।
उनले आफूभित्र रहेको भ्रमको सीमा पनि उजागर गर्दै भनेका छन्, ‘आफ्नो पार्टी सरकारको नेतृत्वमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागे पनि थिति भने सहज छैन ।’ उनका अनुसार यसको बचाउका लागि एकमात्र उपाय भनेको ‘जिम्मेवारीबोधका साथ सङ्घर्ष गर्नु’ हो । अन्यथा ‘अप्ठ्यारो स्थिति आउनसक्ने’ कुरालाई टार्न संभव छैन ।
उसो त प्रधानमन्त्री प्रचण्ड सत्तागठबन्धनको ‘नकआउट रिङ’मा उभ्याइएका छन् । गठबन्धन सहकर्मी नेता शेरबहादुर देउवा सरकारको नेतृत्व खोसिएको दिनदेखि सिकार आगमनको प्रतिक्षामा नाका कुरेर छिपेको बाघ झैं प्रम प्रचण्डसँग मौन रहँदै आएका छन् ।
गठबन्धनकै अर्का नेता गगन थापाले सरकारको नेतृत्व ‘६ महिना मात्र लिएर परिणाम देखाउनु पर्ने’ र ‘राजा र एमालेलाई देखाएर सरकार उम्कन नपाउने’ भन्दै चेतावनीको भाषा बोलिरहेका छन् ।
साचो हो, सत्य निरूपण तथा मेलमिलाप आयोगको औचित्य बाँकी रहेको अवस्था छैन । सङ्क्रमणकालीन न्याय हुन सक्ने देखिदैन । सत्ताधारी ठूलो पार्टी र विपक्षी दल नै यसका लागि तयार छैनन् ।
वृहद् शान्ति सम्झौताको मर्मअनुरूप गठित विशेष अदालतको अधिकार क्षेत्रभित्र रहेका द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमार्फत् नियमित अदालतको अधिकारक्षेत्रभित्र अघोषित रूपमा तानिइसकेका छन् ।
हो, विगतमा सङ्क्रमणकालीन न्याय निरूपण गरिहाल्नु पर्नेमा त्यसैलाई ‘बार्गेनिङ चिप्स’ (च्याखे) बनाइराखेपछि आधा राज्य शासन गरिराख्न पाउने कमजोर चिन्तन र बहकाउको सिकार प्रम प्रचण्ड भएकै हुन् । उचाल्ने र नचाउनेहरूले के गरे/गरेनन्, त्यो कुरा भिन्दै होला ।
कमजोरी मानिसमा हुन्छन् नै । तर उनकै सहकर्मी किरण, बादल र बाबुराम लाखापाखा लागेपछि भने उनी र माओवादीको भविष्यमाथि ग्रहण लाग्न थाल्नु स्वभाविकै थियो । पार्टी एकता बचाउन नसक्नु र जनतातिर फर्केर हेर्न नचाहनु उनका ठूला कमजोरी रहेका छन् ।
दोस्रो, कार्यकर्ता सम्हाल्न पटक्कै जाँगर नदेखाउनु र उल्टै रोष पोख्नु उनको कमजोरी रहँदै आएका छन् । यिनै कमजोरीका कारण पनि उनले भन्ने गरेका अमूक परिवर्तनका उपलब्धि तारेभीरको थाप्लामा पुर्याइएका छन् ।
यसको अर्थ यो होइन कि परिवर्तनका उपलब्धि समाप्त पार्न परिवर्तन विरोधी कोही पनि लागेका छैनन् र यो केवल प्रम प्रचण्डको भ्रम हो । बरू सत्य कुरो त के हो भने सबै लागेर परिवर्तनको उपलब्धि र त्यसमा पनि पछिल्लो समयमा हासिल गरिएको जनयुद्धको उपलब्धी निमिट्यान्न पार्न एकलाएक्लै जस्तो देखिने तर अन्तर्यमा सामुहिक प्रयत्नमा छन् ।
यसको प्रतिवाद तथा परिवर्तनका उपलब्धिहरूको रक्षाका लागि रक्षा गर्न चाहने शक्तिको आत्मगत अवस्था मजबुत हुनु जरूरी हुन्छ । त्यो अहिले गुम्दै र क्षीण हुँदै गइरहेको छ । स्थिति त कतिसम्म गम्भीर र सम्वेदनशील छ भने स्वयम् प्रचण्ड परिवर्तनकारी शक्ति र परिवर्तनका उपलब्धीको रक्षा गर्ने पङ्क्तिका प्रधानमन्त्री होइनन् ।
दुर्भाग्य र हास्यास्पद कुरो त के पनि हुन गएको छ भने प्रधानमन्त्री प्रचण्ड परिवर्तनका उपलब्धि निमिट्यान्न पार्न चाहने गठबन्धनका प्रधानमन्त्री हुन् । दुःखका साथ भन्नुपर्छ उनकै हातबाट परिवर्तनका उपलब्धिहरूको घाँटी निमोठिन पनि सक्छ । किनकि उनी सुनको पिञ्जडाभित्र कैद छन् । जे गर्न लगायो त्यही गर्नै पर्ने हैसियतमा छन्, एउटा तोतामैना जस्तै !