• मंसिर ११ २०८१, मंगलवार

जलवायु परिवर्तन बारे औद्योगिक राष्ट्रहरुको चिन्ता खै ?

बैशाख २ २०८०, शनिबार

मानिसकै गतिविधिका कारण आज विश्वमा दिनप्रतिदिन जलवायु परिवर्तन बढ्दै गइरहेको छ । त्यसको प्रत्यक्ष मार विश्वभरका मानिसले खेप्नु परेको छ । तर जलवायु परिवर्तनलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा भने विश्वका राष्ट्रहरु त्यति सचेत भने भएका छैनन् न त हाम्रो जस्तो विकासोन्मुख राष्ट्र नै यस विषयमा सचेत भएर अघि बढेको अवस्था छ । साँच्चै नै जलवायु परिवर्तन जस्तो गम्भीर विषयमा विश्व भरिका राष्ट्रहरु सचेत हुन सकेनन् भने आउने दिनमा यसले ठूलै रुप लिने पक्का छ ।

जलवायु परिवर्तनले एउटा देशलाई मात्र नभई विश्वलाई नै प्रत्यक्ष अप्रत्यक्ष असर पारिरहेको हुन्छ । यसको असरबाट बच्न विश्वका केही राष्ट्रहरुले जलवायु परिवर्तन सम्बन्धी विभिन्न परियोजना ल्याएर काम पनि भइरहेको छ तर त्यसको ठोस कार्यान्वयन भने हुन सकिरहेको छैन जसले गर्दा जलवायु परिवर्तनमा ल्याएका लगानी बालुवामा पानी हाले जस्तै भएको वर्तमान अवस्था हो ।

जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लिने क्रम बढ्दा सेता हिमाल काला हिमालमा परिवर्तन भएका छन् । उच्च हिमाली भूभागमा नास्पाती र स्याउ जस्ता फलफूलको फूल फुल्ने समय परिवर्तन भएका छन् । मानिसको गतिविधिका कारण कार्बन डाईअक्साइड उत्सर्जन बढेका कारण तापक्रम बढीरहेको छ । विश्वभरि तापक्रम बढिरहेका कारण पृथ्वी अहिले द्रुत गतिमा जलवायु परिवर्तनको संघारमा देखिएको हामी सबैलाई थाहा भएकै कुरो हो तर यस विषयमा सम्बन्धित तह र तप्काहरु संवेदशील हुन भने सकिरहेको अवस्था छैन । जलवायु परिवर्तनको विषयमा एउटा कोठामा कार्यक्रम गर्ने काम मात्र भइरहेको छ ।

नेपालमा पनि केही वर्षदेखि राज्यमार्फत् जलजायु परिवर्तन सम्बन्धि केही काम त भएका छन् तर ती परियोजनाले जलवायु परिवर्तनमा उल्लेख्य काम भने गर्न सकिरहेका छैनन् । करोडौं र अरबौं रकमहरु जलवायु परिवर्तन रोक्नकालागि खर्च गरिएका छन् तर प्रगति भने पुग्नु पर्ने ठाउँमा पुग्न सकिरहेको छैन । अझ जलवायु परिवर्तनबाट दिन प्रतिदिन पीडित भएका नागरिकहरुसँग राज्य पुग्न नसकिरहेको गुनासो आउने गर्दछ ।

साँच्चै नै राज्य यस विषयमा गम्भीर भई दिएको भए जलवायु परिवर्तनबाट नागरिकहरु सहज तरिकाले बाँच्न सक्ने चेतनाको विकास हुने थियो होला । तर राज्य र यस क्षेत्रमा काम गर्ने निकायहरु जलवायु परिवर्तन सम्बन्धि कार्यमा त्यति चासो दिएर काम गरेको उपलब्धि देखिँदैन ।
पछिल्लो समयमा केही गैरसरकारी संस्थाहरु जलवायु परिवर्तनका विषयमा चासो राखेर काम गर्न थालेका छन् । त्यसै मध्येको एउटा संस्था हो ‘साथसाथै’ जसले जलवायु परिवर्तनको क्षेत्रमा चेतना, शिक्षा दिन आफ्नो मुख्य एजेण्डा बनाएर काम गरिरहेको छ ।

विशेष गरी जववायु परिवर्तनले महिलामाथि पारेका विषयमा यो संस्थाले गहन रुपमा प्रत्यक्ष अनुगमन तथा अनुसन्धान गर्दै अघि बढिरहेको छ । जसले गर्दा साथसाथैले नेपालका पहाडी तथा हिमाली भागका जिल्लाहरुमा पदयात्रा गरी त्यहाँ बसोबास गर्ने नागरिक र विशेष गरी महिला तथा बालबालिकाको अवस्थामा कस्तो असर पारेको छ भन्ने विषयलाई  उठाउँदै आएको छ ।

साथसाथैले अन्नपूर्ण बेस क्याम्पदेखि सगरमाथा बेस क्याम्पमा विभिन्न क्षेत्रमा आबद्ध महिलाहरुलाई भ्रमण समेत गराइसकेको छ । पदयात्राका क्रममा त्यहाँ बसोबास गर्ने नागरिक र महिलाहरुसँग नजिकबाट हातेमालो गर्दै उनीहरुले जलवायु परिवर्तनबाट भोग्नु परेको समस्याहरुलाई नजिकबाट नियाल्दै विभिन्न कार्यक्रमहरु गरेको छ । साथसाथैले सगरमाथा बेस क्याम्प गएर त्यहाँको वस्तुस्थितिलाई नजिकबाट बुझेर काठमाडौंमा आई विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग अन्तक्रिया कार्यक्रम गरिसकेको छ ।

यसले कार्यक्रममा सगरमाथा आधार शिविर लगायतका जिल्लाहरुले जलवायु परिवर्तनबाट भोग्नु परेको तितो यथार्थ सुनाएको थियो । विगतका देखिने सेता हिमाल आज काला हिमालमा परिवर्तन भएको, हिमाली जिल्लामा हावाहुरी आएर त्यहाँ बसोबास गर्ने नागरिकको घरका टिनहरु उडाएका तथा कृषिमा समेत जलवायु परिवर्तनले गर्दा फलहरु निकै साना फल्ने गरेको जलवायु परिवर्तनका कारण उच्च हिमाली भूभागमा नास्पाती, स्याउजस्ता फलफूलको फूल फुल्ने सिजन परिवर्तन भएको र जलवायु परिवर्तनको असर फलफूलमा परेको सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मानवीर राईले कार्यक्रममा बताए थिए ।

यो त एउटा उदाहारण मात्र हो । यसरी जलवायु परिवर्तनको समस्या खेपेर जीवनयापन बिताउन बाध्य नेपाली नागरिकहरु हजारौं छन् तर त्यसको खोजबिन भएको छैन । जे होस् एउटा गैरसरकारी संस्थाको आयोजना गरिएको कार्यक्रममा आउँदा सोलुखुम्बु निवासीले यसरी जलवायु परिवर्तनको समस्या व्यक्त गरे।

साथसाथैले आयोजना गरेको ‘महिला, जलवायु न्याय, सूचना, समावेशिता तथा नवीनता’ विषयक कार्यक्रममा व्यापक छलफल गरिएको थियो । छलफलमा जलवायुजन्य नोक्सानीका विषयलाई संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप-२८) मा प्रभावकारी रूपमा उठाउन सरकारले अहिलेदेखि नै तयारी गर्नुपर्नेमा कार्यक्रममा सहभागी विज्ञले तथा सरोकारवालाहरुले सल्लाह र सुझाव दिएका थिए । जलवायु परिवर्तनले गर्दा भएको क्षतिमा न्याय दिने विषयमा केन्द्रित भएर आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा उक्त सम्मेलन हुने तय भएको छ । कार्यक्रममा अधिकांश सरोकारवाला व्यक्तहरुले जलवायु सङ्कटबाट बच्न राज्यले सम्बन्धित जलवायु पीडित क्षेत्रका जनताहरुसँग सहकार्य गरी बजेट छुटाउनु पर्नेमा जोड दिएका थिए ।

साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनका कारण महिलाहरुलाई पारेको असरबारे ध्यानाकर्षण गराउनका लागि गत वर्षदेखि खुम्बु क्षेत्रमा महिला दिवस मनाउनु परेको बताइन् । जलवायु संकटबाट विशेष गरी महिला तथा बाबालिकाहरु प्रत्यक्ष असर परेको बताउँदै अगामी दिनमा कसरी जलवायु संकटबाट ती क्षेत्रका बासिन्दालाई बचाउन सकिन्छ भनेर राज्यलाई खबरदारी गर्दै यो मुद्धालाई अन्तराष्ट्रिय क्षेत्रमै पुराउन साथसाथैले भूमिका खेल्ने बताइन् ।

समग्रमा भन्नु पर्दा जलवायु परिवर्तनले मानवजीवनलाई नै चूनौती दिँदैछ अब पनि हामीले यस्ता विषयमा सचेत भई अघि बढ्न सकिएन भने भविष्यमा हामी मानव जातिकोलागि निकै नै चुनौती र पीडादायी हुनेछ । हामी सबैलाई थाहा भएकै कुरो हो जलवायु परिवर्तनले मानिसलाई उपभोगका लागि आवश्यक पर्ने पानीको कमी हुँदै गइरहेको छ । खाद्य सामग्री उत्पादन गर्न गाह्रो हुनेदेखि मानव जीवन नै बदलिन सक्छ । चर्को गर्मी, आँधी वा ठूलो वर्षाजस्ता चरम मौसमी अवस्था नियमित हुँदा हाम्रो जीविका र जीवनलाई खतरा हुन्छ ।

त्यसकारण राज्यले पनि दिनप्रतिदिन बढ्दै गइरहेको जलवायु परिवर्तनलाई कसरी रोक्न सकिन्छ, यस बारेमा कसरी नागरिकलाई सचेत गराउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरी कार्ययोजना बनाउन जरुरी छ साथै जलवायु परिवर्तनले पारेको क्षेत्रमा जतिसक्दो चाँडो त्यहाँस्थित बसोबास गर्ने बासिन्दासँग सहकार्य गरी आर्थिक कार्ययोजना ल्याउन जरुरी छ । साथै विश्वका राष्ट्रहरुसँग पनि सहकार्य गर्दै विश्वलाई नै जलवायु परिवर्तनबाट बचाउन विश्वभरिका नागरिकहरु एकजुट हुनु पर्ने सन्देश दिन आवश्यक छ ।