अमेरिकी सेनाको गोप्य दस्तावेज सार्वजनिक भएको विषयलाई लिएर अमेरिकी राज्यसत्ता प्रमुखहरू अरूलाई दोष लगाउँदै हिँड्न थालेपछि चीनलाई चिसो परेको छ । चीनको विदेश मन्त्रालयले चुहिएको भनिएको अमेरिकी सेनाको गोप्य दस्तावेजका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई स्पष्टीकरण दिन अमेरिकी पक्षलाई आग्रह गरेको छ ।
अमेरिकी सञ्चार माध्यमले खुलासा गरेअनुसार अमेरिकी सैन्यमुकाम पेन्टागनका केही शङ्कास्पद गोप्य दस्तावेजहरू सामाजिक सञ्जालमा प्रसारित भइरहेका छन् । चुहावट भइरहेका यी दस्तावेजहरूले रूस–युक्रेन द्वन्द्वमा अमेरिकाको गहिरो चासो रहेको कुरा उजागर गरिरहेका छन् ।
यी दस्तावेज चुहिनुमा आफ्ना मित्रका साथै चीन र रूसजस्ता प्रतिस्पर्धीहरूको भूमिका हुनसक्ने आशङ्का अमेरिकाले व्यक्त गरिरहेको छ । चीनले यस्तोखाले अमेरिकी अभिव्यक्तिले विश्व समुदायमा आफ्नो इमेज विद्रुपित हुने आशयसहितका कुरा उठाउँदै ती दस्तावेजका बारेमा अमेरिकी अधिकारीले स्पष्ट पार्नुपर्ने कुरा अघि सारेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले यस्तो खाले अमेरिकी स्पष्टीकरण अन्तर्राष्ट्रिय जनसमुदायका लागि आवश्यक भइसकेको कुरामा जोड दिएका छन् । यो संकट र समस्या अमेरिका स्वयम्को देखिन्छ ।
साचो हो, यदि ती दस्तावेज सही हुन् भने लिक भएका भनिएका ती दस्तावेजले युक्रेन सङ्कटमा अमेरिकाको गहिरो संलग्नता रहेको कुरा उजागर गरिरहेका छन् ।
तर ती कुरामा चीन र रूसलाई देखाएर अमेरिकाले आफ्नो कमजोरी ढाकछोप गर्न सक्ने अवस्था पनि देखिदैन । यस विषयमा चीनले प्रतिदावा गरिरहेको छ कि अमेरिकाले आफूलाई यदि प्रजातान्त्रिक पद्धतिको अगुवा दावा गर्छ भने यसका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई स्पष्टीकरण देओस् ।
चीनको भनाइमा अमेरिकामा आयोजित ‘समिट फर डेमोक्रेसी’ मा अमेरिकाले साझेदारहरूसँग मिलेर प्रविधिको विकास र प्रयोग ‘लोकतान्त्रिक मूल्य र स्वार्थ’ प्रतिबिम्बित हुने गरी सुनिश्चित गर्ने भनेको थियो । त्यही मर्मअनुसार अमेरिका केवल अमेरिकी स्वार्थका लागि होइन, विश्व समुदायका लागि प्रतिबद्ध र विश्वसनीय हुन सक्नुपर्ने चीनको भनाइ रहेको छ ।
पछिल्लो समयमा त अमेरिकाले राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसलाई रूसलाई सघाउँदै आएको आरोप लगाउन सुरू गरिसकेको छ । यसले अन्तर्राष्ट्रिय तिक्तता बढाउँदै लगिरहेको छ ।
(रासस/सिन्ह्वाबाट)