• मंसिर १२ २०८१, बुधबार

प्रेमवियोग लोकार्पण गर्न वैशाख १ मै फूल्छ सलहेश

बैशाख १ २०८०, शुक्रबार

नयाँ वर्षमा फूल्ने फूल सलहेश यस वर्ष पनि फूल्यो । त्यो पनि सलहेश फूलवारीमा ! यही फूल हेर्न लहान नगरपालिकाको पश्चिम दिशामा पर्ने सलहेश फूलबारीमा नयाँ वर्षको पहिलो दिन आकर्षक मेला लाछ ।

फूलबारीमा रहेको हारमको रूखमा हरेक नयाँ वर्षको पहिलो दिन वैशाख १ गते सुनाखरी फुल्ने गर्छ । यसलाई स्थानीय जनता अलौकिक घटनाका रूपमा लिन्छन् ।

अहिले सलहेशलाई फूलका रूपमा लिइन्छ । तर यो प्राचिन कालको एक समयका शक्तिशाली राजा सलहेशको विम्वका रूपमा रहेको छ । सलहेशको पर्यायवाची शब्द शैलेश हो ।

शैलेश वा सलहेश राजाले दर्जनौ पटक तिब्बतबाट भएको आक्रमणलाई परास्त गरी आफ्नो राज्यको सीमा रक्षा गरेको इतिहासमा पाइन्छ ।
अहिले पनि दुसाध समुदाय सलहेशलाई आफ्नो कुलदेव मान्दछन् । उनी निकै दयालु, ज्ञानी र दानी भएकाले उनी देवतातुल्य थिए ।

तर सलहेश फूलको कथा भने भिन्नै छ । तात्कालीन राजा सहलेशको विवाह मधुवनीका बलाठकी छोरी सामैरसँग भयो । तर पकडियागढका राजा कुलेश्वरकी छोरी चन्द्रवतीले सलहेशलाई प्रेम गर्थिन् ।

प्रेम प्रस्तावलाई सलहेशले अस्वीकार गरेपछि छोरी राजकुमारी चन्द्रवतीको रोदन र पीडालाई सहन गर्न नसकेर राजा कुलेश्वरले सलहेशलाई कैद गरे ।

तर सलहेशकी रानी सामैर राजा कुलेश्वरकहाँ पुगी यथार्थता जानकारी गराएर सलहेशलाई कैद मुक्त गरिन् । अर्कोतिर फूलको रक्षा र स्याहार सुसार गर्ने कुसुमा मालिनीले पनि राजा सलहेशलाई हृदयदेखि प्रेम गर्थिन् ।

उनै मालिनीले राजा सलेहलाई अपनाउन नपाएपछि प्रेमवियोग विर्सनमा मह्लम लगाउनका लागि एक उपाय सोचिन् । उनै मालिनी कुसुमाले आफू यस प्रेम वियोगलाई श्रद्धाका साथ मानिसका अगाडि लोकार्पण गरिन् ।

वर्षमा एकपटक लोकका अगाडि देखा पर्ने र आफू अहिले पनि प्रेमी राजा सलहेशको प्रतीक्षामा रहेको प्रत्यक्ष आभाष दिलाउने वाचा अनुसार वैशाखको पहिलो दिन हारमको रूखमा देखा पर्ने गरिन् ।

आजका दिन पनि सलहेश फूल हारमको रूखमा सेताम्मै भएर माला गाँसिएझैं  गाँसिएर चित्ताकर्षक स्वरूप लिएर फूल्छ । सलहेश फूल्ने हारमको छेवैमा कुसुमा मालिनीको मन्दिर रहेको छ ।

त्यस दिनभर कुसुमा मालिनी फूलको माला उनेर सलहेशको प्रतीक्षामा उभिइरहन्छिन् । सलहेश फूलबारी प्रेमको फूलवारी हो । यहाँ गरिएका प्रेमका भााकल सबै पूरा हुने गर्दछन् । निःसन्तान स्त्री सलहेशको दर्शनपछि आमा बन्ने गर्दछिन् ।