आज तीन सय पैसट्ठी दिन पार गरी नयाँ वर्षमा प्रवेश गरेको छ । आजदेखि विक्रम सम्वत् २०८० साल सुरू भएको छ । यसरी नयाँ वर्ष सुरू भएको उपलक्ष्यमा आफन्त, साथीभाइ र चिनेजानेकालाई एक अर्काले, सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना गर्ने चलन छ । त्यसै अनुरूप नयाँ वर्षको शुभकामना आदान–प्रदान गरिँदै छ ।
समय गतिशील छ । फलतः जीवन भनेको निरन्तरताको यात्रा हो । यसमा कोही जन्मन्छन्, कोही मर्छन्, कोही झन् युवा हुन्छन् । यसरी नै समय बित्ने गर्दछ । यसर्थ, समयको गतिले जन्मदेखि मृत्यु सम्मको चक्रमा पुर्याउँदछ ।
विक्रमादित्य राजाको कुनै अस्तित्व नभएको भए यसरी विक्रमादित्यको मूर्तिको पूजाआजा गरेर बस्नुपर्ने कुनै कारण हुँदैनथ्यो । यिनै चक्रवर्ती राजाले नेपाललाई विस्तार गर्दै काशीसम्म पुगी काशीमा विश्वनाथको मन्दिर स्थापना गरेका थिए भन्ने कुरा हिमवतखण्ड पुस्तकमा उल्लेख छ । विक्रम सम्वत् सौर्यसँग सम्बन्धित छ ।
यसरी विभिन्न लेखकहरूले लेख्छन् विक्रम सम्वत्को प्रचलन मध्यकालमा बाइसी–चौबिसी, सेन, मल्ल, शाह राजाहरूले विक्रम सम्वत् हिमवतखण्ड नेपालका विभिन्न साना राज्यहरूमा प्रचलित भइरहेकाले विशाल नेपालको सिर्जना भएपछि विक्रम सम्वत् नेपालको राष्ट्रिय सम्वत्को रूपमा स्थापित छ ।
विक्रम सम्वत्, शक सम्वत्, नेपाल सम्वत् तिथिमा चल्दै आएका सम्वत् हुन्। । यसरी विक्रम सम्वत्ले वैदिककालदेखि प्रचलित तिथि र बारहरूको अवलम्बन गर्दै आएको र तर तिथिहरू थपघट भइरहने हुनाले शासन व्यवस्थामा धेरै अप्ठेरो भएकाले ज्योतिषहरूको सम्मेलनको सुझावमा शासन व्यवस्थामा सजिलोका लागि चन्द्रशमशेरले विक्रम सम्वत् १९६१ वैशाख १ गते मेष सङ्क्रान्तिदेखि तिथि र बारहरूमा कुनै तलमाथि नगरी गतेमा लेख्ने चलन चलाएका हुन् ।
विश्वमा हरेक देशहरूमा पुरानो वर्षको बिदाइ र नव वर्षको आगमनमा स्वागत गर्ने आआफ्नो किसिमको कार्यशैली रहेको छ । यसै सन्दर्भलाई अवलोकन गर्ने हो भने गएराति बाह्रबजेदेखि बि.सं. २०७९ ले बिदा लिई बि.सं. २०८० आरम्भ भएको छ ।
नव वर्षको पुनित अवसरमा शुभकामना एक अर्कोमा आदान–प्रदान गरिन्छ । विगतमा घटेका जेजस्ता घटनाहरू भए पनि त्यसलाई चटक्क बिर्सिएर नयाँ जोस र जाँगरलाई अगाडि बढाएर सुखद भविष्यको परिकल्पना गर्नु स्वभाविकै हो । विगत वर्षहरू झैं २०७९ पनि अव इतिहास भइसकेको छ ।
भूतकालमा भएका कमी कमजोरी र त्रुटी संझिएर चिन्तित हुनुभन्दा इतिहासलाई गुरु ठानेर भविष्यको सम्यक विश्लेषण र दिशा निर्धारण गर्नतिर सचेष्ट रहनु मानवीय धर्म तथा कर्तव्य पनि हो ।
नयाँ वर्ष शुभारम्भको उपलक्ष्यमा विगतलाई समीक्षा गर्दै भविष्यको गोरेटो पहिल्याउने प्रयत्न गर्ने हो भने हामी हाम्रो भविष्य स्वतः नै उज्ज्वल देख्न पाउने छौं । त्यसो त नयाँ वर्ष र नयाँ परिवर्तन हामीले सोचेजस्तो सीधासाधा, सुखद र शान्त हुँदैन । त्यो जहिले पनि टेढोमेडो हुन्छ । हाम्रो सोचाइभन्दा केही जटिल नै हुन्छ ।
नयाँपनको प्रसव वेदना पनि समाजले सहनै पर्छ । केही अप्ठयारो भोग्नैपर्छ । तर त्यसपछि हामी एक नयाँ युगमा प्रवेश गर्नेछौं । त्यसपछि हामी एक नयाँपन महसुस गर्नेछौं ।
प्राचीन भारतको उज्जैनका राजा बिक्रमादित्य तृतीयले चलाएको मानिने बैशाख महिनाको पहिलो दिनलाई नववर्षारम्भको दिन मानिए अनुरूप आजको नयाँ वर्षको दिनमा हाम्रा चाडपर्वहरू राष्ट्रिय जीवन एवं सांस्कृतिक र धार्मिक सम्पन्नता एवं सम्वृद्धिका परिचायकका रूपमा मनाउने प्रचलन रहेकाले तदनुरूप आफ्नो मूल्य एवं मान्यताको परस्पारिक व्यवहार अनुसार सवैको भलो होस् भन्ने भावना दिई एक–आपसमा शुभकामना साटासाट गर्नुले सहजीवनको महत्व तथा यसको मूल्य र मान्यताको यर्थाथलाई संस्कारगत जीवन पद्धतिको रूपमा आत्मसात् गर्न र राष्ट्र निर्माणमा अगाडि बढ्न हामीलाई प्रेरणा प्रदान गरिरहेको हुन्छ ।
सोही अनुरूप आजदेखि नयाँ वर्ष पदार्पण भई एउटा नयाँ बिहानी सद्भावना र शुभकामनाको प्रतिक भएर उदाएकोले मानिसको मनलाई प्रफुल्लित बनाएको छ । नयाँ वर्षको आगमनसँगै नेपालीको घर–आगन मैत्री, प्रेम, सद्भावनाका सुगन्धले भरिपूर्ण रहने अपेक्षा प्रत्येक व्यक्ति–व्यक्तिले आदान–प्रदान गर्ने शुभकामना सन्देशहरू पाइन्छन् । त्यसैले आजको दिनलाई मंगलमय दिनको रूपमा आत्मसात् गरी नववर्षको स्वागत गर्ने संस्कार विद्यमान रहिआएको छ ।
नयाँ वर्षको शुभअवसरमा शुभकार्यहरू र धार्मिक कृत्यहरू गर्नुअधि सबेरै उठेर स्नान गरी नजिकका धार्मिक स्थलहरूमा दर्शन र पूजन गर्न जाने, गुरू र पुरोहितबाट नववर्ष एवं सङ्क्रान्तिको शुभफल र कथा सुन्ने, सिदा, दक्षिणा अर्पण गर्ने कार्यहरू गर्दा वर्षभरि नै लाभदायक हुने र स्वास्थ्यदायक हुने विश्वास गरी तेलमर्दन गर्ने, मिश्री, मरिच र निमको पात खाने प्रचलन अतिरिक्त आफन्तहरूलाई शुभकामना र बधाई एवं अभिनन्दन ज्ञापन गर्ने तथा घरमा आफ्ना हितौषीहरूलाई निमन्त्रणा गरेर नयाँ व्यञ्जन एवं परिकारहरू खुवाउने र खाने कार्य गरी रमाइलो गरिने परम्परा रहेको छ ।
यस दिनमा प्रत्येक व्यक्तिको जे जसरी दिन बित्दछ वा गुज्रन्छ अर्थात खानपिन, रमाइलो, सुख, सुविधा हुन्छ त्यसको फल वा प्रभाव वर्षभरि नै परिरहने जनविश्वास रहेकाले यस दिन सकभर रमाइलो, मनोरञ्जन गर्नुका साथै मीठा एवं स्वादिला भोजन गरी खुशियाली, आराम एवं मनोरम वातावरणमा दिन बिताउने प्रचलन रहेको छ ।
समग्रमा भन्नुपर्दा नयाँ वर्षको स्वागत तथा अभिनन्दन गर्ने कला कौशल आआफ्नो देशमा आ–आफ्नै किसिमका रहेका छन् । यसर्थ हरेक क्षण, हरेक दिन, हरेक वर्ष आफैँमा नयाँ हुन्छन् तर सम्पूर्ण नेपालीले वैशाख १ गतेलाई मिति, तिथि वा पात्रो परिवर्तनको प्राविधिक पक्षभन्दा उत्साह, सम्भावना, प्रेरणा र सङ्कल्पविशेष दिवसका रूपमा बुझ्छन्, लिन्छन् । यसर्थ, वैशाख १ को महत्व समयमात्र होइन, समाज परिवर्तनमा परिलक्षित छ ।
यो नल नामको सम्वत्सर सकिएर चैत्र शुक्ल प्रतिपदादेखि नै पिङ्गल नामको सम्वत्सर सुरू भई विक्रम सम्वत् २०८० सुरू हुन लागेकोे छ । हाम्रो देशमा बैशाख १ गते वर्षको पहिलो दिन अर्थात नयाँ वर्ष पर्छ । नेपालमा नव वर्षको यस पर्वलाई पश्चिमी देशमाझैं आमोद–प्रमोदको वातावरणभन्दा धार्मिक वातावरणमा मनाउने चलन बढी पाइन्छ ।
हामीकहाँ नव वर्षलाई राष्ट्रिय पर्वको रूपमा मनाउने सन्दर्भमा अधिराज्यभर बिदा हुनुका साथै सरकार प्रमुखबाट देशवासीको नाममा सन्देश दिने परम्परा पनि रहिआएको छ । पुरानो सालमा घटेको तीता मीठा अनुभवहरू चटक्क विर्सिएर बाँकी कतिपय कार्यहरू सफल गराउने विश्वासका साथ समस्त नेपालीहरूका लागि नयाँ वर्ष उत्सुकताको प्रतीक मानिन्छ ।
यसर्थ, वि.सं. २०८० साल बितेका दिनजस्तो भएर नआओस् । मूलतः वि.सं. २०७९ मा विश्वव्यापी कोरोना कहर, बाढीपहिरो, हुरीबतास, डढेलो, विभिन्न रोगव्यापीले संसारलाई सताइरहेको थियो । अब आउँदो साल त्यस्तो नहोस् ।
आउँदो वर्षले सबैलाई सुख, शान्ति, सुस्वाथ्य रहने वातावरण रहोस्, सबैको उन्नति, प्रगतिले छाओस् ।
प्रत्येक बिहानीले दिनलाई सङ्केत गर्छ भनेजस्तो आउँदो वर्ष वि.सं. २०८० साल सबैका लागि फलदायी रहोस् । जसमा तमाम नेपालीले वर्षभरलाई आफ्नो ‘भाग्य’ भन्दै भर्सेलोमा छाड्न नपरोस् सबैको उत्तरोत्तर प्रगति र उन्नतिका नयाँ नयाँ झाङहरू मौलाएर आउन् । यसको साथसाथै नव वर्षको विहानीमा यही शुभकामना !