काठमाडौँ । सरकारले रू १ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत गरेको छ । विभिन्न ५ वटा जलविद्युत परियोजनाको लागि सो लगानी स्वीकृत भएको हो ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बुधबार बसेको लगानी बोर्डको ५३औं बैठकले रू १ खर्ब ४६ अर्ब २२ करोड वैदेशिक र रू २१ अर्ब ३७ करोड स्वदेशी गरी कूल रू १ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत गरेको प्रवक्ता अमृत लम्सालले जानकारी दिए ।
बैठकले तल्लो अरुण जलविद्युत परियोजनाका लागि रू ९२.६८ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । साथै विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौताको सहमतिको दस्ताबेज तयार पारेर बोर्डसमक्ष पेश गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति पनि गठन गरेको छ ।
त्यसैगरी, १०२ मेगावाटको माथिल्लो मस्र्याङ्दी १ जलविद्युत परियोजनाको रु ३३.१९ अर्ब, ७० मेगावाटको दुधकोसी २ जलविद्युत परियोजनाको रु २०.३५ अर्ब, ७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत परियोजनाको रु १३.४४ अर्ब र ४३ मेगावाटको अप्पर मादी खोला जलविद्युत परियोजनाको लागि रु ७.९३ अर्ब लगानी स्वीकृत गरेको लम्सालले बताए ।
बोर्ड बैठकले २०८० सालमा आयोजना गर्न लागिएको लगानी सम्मेलनको अवधारणापत्र स्वीकृत गर्नुका साथै सम्मेलन सफलतापूर्वक आयोजना गर्न आवश्यक पूर्वतयारीका लागि लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी पनि दिएको छ ।