काठमाडौं । आइएमई ग्रुपमा सञ्चालक चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको २०औं अध्यक्ष बनेका छन् । महासङ्घको ५७औं साधारणसभा र निर्वाचन सकिएसँगै ढकाल २०औं अध्यक्ष बनेका हुन् । ढकाललाई महासङ्घका वर्तमान अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनियताको सपथ खुवाएसँगै ढकाल अध्यक्ष बनेका छन् ।
२०७७ सालमा सम्पन्न महासंघको चुनावबाट ढकाल वरिष्ठ उपाध्यक्ष बनेका थिए । वरिष्ठ उपाध्यक्ष सर्वसंवत अध्यक्ष बन्ने प्रावधानअनुसार ढकाल बिहीबारबाट अध्यक्ष बनेका हुन् ।
ढकालले सपथ खुाएसँगै गोल्छा निवर्तमान अध्यक्ष बनेका छन् । अध्यक्ष पदको सपथ लिएसँगै ढकालले सर्वसम्मतरुपमा वरिष्ठ उपाध्यक्ष चुन्न ठूलो मेहनत गरेको बताए । यसका लागि लामो समयदेखि आफूले प्रयास गरेपनि आज सफल बनेको ढकालको भनाई छ । सर्वसम्मत नेतृत्व चुन्न गरेको प्रयासमा उमेशलाल श्रेष्ठको ठूलो योगदान रहेको उनले बताए ।
यो अभियानमा आफूलाई पूर्वअध्यक्षहरूले समेत साथ दिएको ढकालले स्मरण गरे । २०औं अध्यक्षका रुपमा आजदेखि कार्यभार सम्हाल्ने जिम्मेवारी आएको बताउँदै उनले भावी दिनमा महासंघको छवि अझै उच्च बनाउने उद्घोष गरे । महासंघको अध्यक्ष बनेपछि निजी क्षेत्रलाई सर्वसाधारणले हेर्ने नजर बदल्ने उदघोष समेत ढकालले गरे ।
यस्तै अहिले आर्थिक मन्दी सुधार गर्न समेत आफूले अभियान थाल्ने ढकालले बताए । यसका साथै नेपालमा लगानीको वातावरण निर्माण गर्न महासंघले पहल थाल्ने तथा साना व्यवसायलाई प्रवर्द्धन गर्न समेत भूमिका खेल्ने ढकालले बताए ।