धनगढी । महाकाली नदीको उत्खनन सम्बन्धी ठेक्कामा ५ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित लेखा अधिकृत, इन्जिनियर र ठेकेदार विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्ट, लेखा अधिकृत गोविन्दराज उपाधयाय, इन्जियिनर हिमालयसिंह ऐर, अधिकृत सुवास अधिकारी, नासु विष्णुदेव भट्ट र लेखापाल दिपेन्द्र चौधरी विरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खननका लागि भीमदत्त नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ को ठेक्कामा नगरपालिकालाई ५ करोड ४३ लाख हानी नोक्सानी भएको ठहर गरेको छ । उक्त ठेक्का भवानी कन्स्ट्रक्सनलाई परेको थियो ।
भवानी कन्स्ट्रक्सनलाई १ करोड ९५ लाख लाभ पुग्ने गरि नगरपालिकाको राजश्व चुहावट भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत भट्ट र लेखा अधिकृत गोविन्दराज उपाध्यायलाई सोही बाराबरको बिगो दाबी गरेको छ । यसैगरी भवानी कन्स्ट्रक्सनबाट बैंक जमानत नलिई सम्झौता गरेको भन्दै नगरपालिकालाई ३ कारोड ४७ लाख हानी नोक्सानी गरेको भन्दै सोही बराबरको विगो दाबी गरिएको छ ।
इन्जिनियर ऐर, अधिकृत अधिकारी, नासु भट्ट र लेखापाल चौधरीले १ करोड ९५ लाख बराबरको राजश्व चुहावट गरेको भन्दै सोही बराबरको विगो दाबी गरेको छ ।