• बैशाख ९ २०८२, मंगलवार

सरकारी विश्वविद्यालयको बेहाल : विद्यार्थी नपाएपछि यी कार्यक्रम बन्द गर्दै काठमाडौं विश्वविद्यालय

चैत्र २९ २०७९, बुधबार

काठमाडौं । काठमाडौं विश्वविद्यालयले विद्यार्थी कम भएका तथा विद्यार्थी नै नभएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ ।
विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम ‘फेज आउट’ गरी आगामी दिनमा नयाँ र प्रभावकारी कार्यक्रम ल्याउने योजना बनाइएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी भए पनि कुन–कुन कार्यक्रम बन्द गर्ने भन्ने निर्णय हुन बाँकी रहेको जानकारी दिए ।

विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी अभावका कारण सञ्चालनमा समस्या भएको बताउँदै आगामी दिनमा प्रभावकारी र विद्यार्थीको आकर्षण बमोजिमका कार्यक्रम ल्याउनेबारे छलफल भइरहेको उनको भनाइ थियो ।

विश्वविद्यालयले हाल दुई सयभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसमध्येका करिब ३० प्रतिशत कार्यक्रम विद्यार्थी अभावका कारण प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन् ।

उपकुलपति थापाका अनुसार ब्याचलर अफ सोसल वर्कको २४ कोटामध्ये २२ सिट रिक्त छन् भने ब्याचलर अफ म्यानेजमेन्टमा ३० सिटमा २२ जना भर्ना भएका छन् ।

मास्टर्स अफ म्यानेजमेन्टमा २० सिटमध्ये १२ सिट रिक्त छन भने ब्याचलर अफ बुद्धिष्ट स्टडिजमा ३० सिट भए पनि चार जना मात्र विद्यार्थी भर्ना भएका छन् ।

उनले पीजीडी इन म्यानेजमेन्टका ३० सिटमध्ये १६ सिट, एकवर्षे एमएड इन इटलीका १५ सिटमध्ये १२ सिट रिक्त रहेको जानकारी दिए । ब्याचलर अफ बिजनेस स्टडिजमा एक सय २० सिटमध्ये ७८ जना भर्ना भएका छन् ।

गुणस्तरीय शैक्षिक कार्यक्रम समयअनुकूल सञ्चालन गरे पनि विद्यार्थी अभाव हुने गरेको उपकुलपति थापाले बताए । विश्वविद्यालयले समयानुकूल शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि सम्बन्धित निकायको न्यून चासो, प्रोत्साहनको कमी, प्रचारप्रसार नहुनु जस्ता कारणले विद्यार्थीको कमी हुने गरेको विश्वविद्यालयका सहनिर्देशक ब्रजेश मिश्रले बताए ।