काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको अहिलेको दबाब निजी क्षेत्रको सहयोगबिना सामना गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको पनि बताए ।
नेपाल उद्योग वाणिज्य महासंघको ५७औंँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुक आर्थिकरुपले चुनौतीपूर्ण रहेको अवस्थामा आफूले जिम्मेवारी सम्हालेको र अहिलेको संकटमोचन गर्ने अवसर यो सरकारलाई रहेको बताएका हुन् ।
‘सरकारको सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउने र त्यसलाई गति दिनेतर्फ केन्द्रित हुन्छ । पछिल्ला दिनहरुमा केही सकारात्मक संकेतहरु पनि देखिन थालिसकेका छन्’, प्रधानमन्त्री दाहालले भने,‘मेरो तेस्रो कार्यकाल मुलुकको समग्र आर्थिक अवस्थाका हिसाबले निकै चुनौतीपूर्ण छ र यो चुनौतीलाई सामना गर्ने अवसरका रुपमा पनि मैले हेरेको छु ।’
नयाँ संविधान निर्माणपछि आर्थिक रुपमा गुणात्मक फड्को मार्ने अपेक्षा गरिए पनि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिका कारण त्यो सम्भव नभएको दाहालले बताए ।
‘हाम्रो अर्थतन्त्रले भूकम्पको नराम्रो धक्का खायो । त्यसपछि कोभिड–१९ महामारीको कारण विश्वव्यापी रुपमा देखिएको संकटको असर देखियो । राजनीतिक उतारचढाव र अस्थिरताको असर पनि परेको छ । रुस–युक्रेन युद्धको असर अझै देखिइरहेको छु, उनले भने । सार्वजनिक र निजी क्षेत्रको सहकार्यलाई प्रभावकारी नबनाइकन आर्थिक सुधार गर्न नसकिने भएकाले अहिलेको सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै त्यस्तो निर्णय गरेको उनको भनाइ छ ।
‘अर्थतन्त्रको अहिलेको दबाब निजी क्षेत्रको सहयोगबिना सामना गर्न सकिँदैन भनेर सरकारले पहिलो निर्णयबाटै सहकार्य अघि बढाएको छ । यो बीचमा धेरै बैठक र अन्तरक्रिया भएका छन्,’ प्रधानमन्त्री दाहालले भने,‘निजी क्षेत्रबाट धेरै सुझाव सरकारले लिएको छ । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग पनि प्रधानमन्त्रीका रुपमा मैले धेरै नै छलफल गरेको छु, तर अपेक्षित रुपमा सुधार नभएकै हो ।’