काठमाडौं । सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । मंगलबार बिहान आम्र्ड पोलिस फोर्स, नेपाल पेजबाट अनधिकृत स्टाटस पोस्ट भएको छ । भियतनामी भाषामा रहेको स्टाटसमा ‘जो गत शरदमा फर्किए’ लेखिएको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता एसपी राजेन्द्र खड्काले अहिले कम्प्युटर शाखाले हेरिरहेको बताए । उनले भने, ‘उक्त स्टाटस हाम्रोबाट पोस्ट भएको होइन । हाम्रो कम्प्युटर शाखाले हेरिरहेको छ । डिटेल आएपछि थप जानकारी दिउँला ।’
नेपालका सरकारी कार्यालयहरूमा वेबसाइट र सामाजिक सञ्जालहरू पटक–पटक साइबर आक्रमणमा पर्ने गरेका छन् । यसअघि चैत २ गते प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डल ह्याक भएको थियो । नेपालमा राष्ट्रपतिको कार्यालयको वेबसाइटसमेत ह्याक भएको थियो ।