• फाल्गुन २७ २०८२, बुधबार

युरोप र अमेरिकी गठबन्धन विभाजन हुने संकेत, फ्रान्सले राष्ट्रपति के सन्देश लिएर फर्किए चीनबाट ?

चैत्र २७ २०७९, सोमबार

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले चीन भ्रमणबाट स्वदेश फर्किएका छन् । फर्कने क्रममा उनले युरोपले अमेरिकासँगको निर्भरता घटाउँदै लैजानुपर्ने बताएका छन् ।

चीनको तीनदिने भ्रमण सकेर पेरिस फर्किने क्रममा हवाइजहाजमै लिइएको अन्तर्वार्तामा राष्ट्रपति म्याक्रोंले अमेरिकासँगको निर्भरता घटाउनुपर्ने भन्दै ताइवानको विषयलाई लिएर भइरहेको चीन र अमेरिका विवादमा युरोपलाई तान्न नहुने बताए ।

करिब ६ घण्टा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटपछि प्लेनमा अन्तर्राष्ट्रिय समाचार संस्था पोलिटिको र दुई फ्रान्सेली पत्रकारहरूसँग कुरा गर्दै युरोपमा ‘कूटनीतिक स्वाधिकार’ हुनुपर्ने विषयलाई जोड दिएका हुन् ।

‘युरोपका लागि सबैभन्दा ठूलो जोखिम भनेकै हामी अरुको संकटमा छिर्न खोज्छौं, जसलाई हामीलाई कूटनीतिक स्वाधिकारबाट वञ्चित गरिरहेको छ‚’ उनले भने ।

म्याक्रोंको कूटनीतिक स्वाधिकारको नीतिलाई चिनियाँ राष्ट्रपति सी र चिनियाँ कम्युनिस्ट पार्टीले प्रशंसा गर्दै यो विषय युरोप र चीनका लागि नयाँ मार्ग निर्धारण गर्ने सेतु बन्न सक्ने बताएका छन् ।

‘सबैभन्दा विरोधाभासपूर्ण कुरा त के हो भने‚ हामी आफैं अमेरिकाको अनुयायी बन्नमा विश्वास गर्छौं,’ उनले भने‚ ‘यो प्रश्नको उत्तर युरोपले नै दिनुपर्नेहुन्छ‚ के ताइवानसँग सम्बन्धित विवादलाई हामी झन् बढाउन चाहन्छौं त ?, चाहँदैनौं ।’

अन्य देशको मुद्दामा तुरुन्त कसैको पक्ष र विपक्षमा उभिइहाल्ने स्वभाव राम्रो नभएको भन्दै उनले यस्ता विषय सतहमा आउनासाथ पछ्याइहाल्ने र अमेरिकी एजेन्डालाई समर्थन गरिहालल्नु राम्रो नभएको बताएका छन् ।

त्यस्तै उनले युक्रेन–रुस विवादमा युक्रेनको संकट समाधान गर्न असमर्थ भएसँगै अब ताइवानको विषयमा युरोपले बोल्न नहुने बताएका छन् । फ्रान्सेली राष्ट्रपति म्याक्रों तीनदिने भ्रमण सकेर फर्किएपछि चीनले ताइवानसँगको सिमानानजिकै रहेको चीनको स्वशासित क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको छ ।

उक्त अभ्यासलाई मध्यअमेरिकी देशहरूमा ताइवानका राष्ट्रपति साइ इङवेनले गरेको १० दिने कूटनीतिक भ्रमणको प्रत्युत्तर भएको चीनले बताएको छ । यो विषयमा बोल्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले आफू चीन भ्रमण सकेर नफर्किंदासम्म उक्त अभ्यास नगरेकोमा आफू खुसी रहेको बताए । म्याक्रोंसँगको भेटमा चिनियाँ राष्ट्रपति सी ताइवान र चीनको विषयमा विशेष चासोका साथ प्रस्तुत भएका थिए ।