• असार २० २०८१, बुधबार

विश्वका धनाढ्य बेर्नार्ड आर्नोको सफलता

चैत्र २६ २०७९, आईतवार

विश्वका धनाढ्य एलन मस्क २०० बिलियन डलरबाट तल झरेपछि फ्रान्सका धनाढ्य बेर्नार्ड आर्नो विश्वकै सबैभन्दा धनी व्यक्ति हुन पुगे । यसरी अवसरको ढोका खुलेर विश्वमा चर्चित हुन पुगेका आर्नोको सफलताका पछाडि धेरै कथाहरू जोडिएका छन् ।

उमेरका हिसाबले ७३ वसन्त पार गरिसकेका आर्नो विलासिताका सामान उत्पादन गर्ने एलभीएमएच कम्पनीका सहसंस्थापक तथा सीइओ हुन् । आर्नोले मस्कलाई गत महिना नै पछाडि पारिसकेका हुन् ।

त्यो सफलता यो महिनासम्म पनि कायमै छ । यसले केही समय निरन्तरता पाउने फोर्ब्स र ब्लुम्वर्गले प्रक्षेपण गरिरहेका छन् । फोर्ब्सका अनुसार आर्नोको सम्पत्ति १९१ बिलियन डलर रहेको छ भने उनै आर्नोको सम्पत्ति मात्र १७२ बिलियन रहेको ब्लुमवर्गले बताइरहेको छ ।

तर १९१ बिलियन वा १७२ बिलियन भने पनि आर्नोको सम्पत्ति एलन मस्कको भन्दा धेरै नै हुन्छ । उनी आजै मात्र माथि उक्लिएका होइनन् । वर्षौंदेखि उनी अर्बपति नै रहँदै आएका हुन् ।

भनिन्छ, आर्नोले यसरी सम्पत्ति सङ्कलन गर्न स्टिभ जब्स र वारेन बफेटको रणनीतिहरू उपयोग गरेका थिए । यिनै रणनीतिको सफल कार्यान्वयनका कारण आर्नो सफलताको सिढि चढ्न सफल भएका थिए ।

सन् १९७० बाट आर्नोले आफ्नो बाबुले चलाएको फार्म सम्हालेका थिए । यस अतिरिक्त घरजग्गा कारोवार, टेक्सटाइल र अन्य खुद्रा विजनेस पनि अपनाएका थिए । यी सबै विजनेसले उनमा प्रौढता ल्याइदिए ।

सन् १९८५ मा मात्र आएर उनले एलभीएमएच् कम्पनी सुरू गरेका थिए । यो कम्पनी त्योभन्दा पहिले ‘क्रिस्चियन डायर’का नाममा खोलिएको थियो र यो टाट पल्टिएको थियो । यो डायर कम्पनीलाई आर्नोले यसका मालिकहरूबाट १५ मिलियन डलरमा खरिद गरेर पुनः सञ्चालनमा ल्याएका थिए ।

एलभीएमएच् नाममा रूपान्तरण गरेपछि यसले उत्पादन गर्दै आएका विलासिताका सामानहरूमा ९७.५ प्रतिशत उत्पादन फ्रान्सेली बजारमा खपत हुने गरिरहेका छन् । यस अतिरिक्त विश्व बजारमा पनि यसको उत्पादनको मागमा कमी आएको छैन ।

यो एलभीएमएच् कम्पनीबाट उत्पादित सामानहरूमा आर्नोले त्यत्तिकै गुणस्तरियता र बजार बटुल्न सकेका भने होइनन् । यसका लागि उनले ठूलो मेहनत र सोच लगानी गर्नु परेको थियो । त्यो थियो, एलभीएमएच् निर्माणका लागि दुई ठूला कम्पनीहरूको एकता वा ‘मर्ज’ ।

यसका लागि उनले लुई भिटों र मों हेनेसी जस्ता ठूला कम्पनीहरूबीच मर्ज गराएर एलभीएम्एचलाई उचाइमा पुर्‍याएका थिए । यी सबै विलासिताका सामान उत्पादक तथा वितरक कम्पनीहरू थिए ।

आजका दिनमा त्यस कम्पनीका सिइओ रहेका आर्नोले उक्त कम्पनीको ५० प्रतिशत भन्दा बढी शेयर आफ्नो नाममा राख्न सफल भएका छन् । यसको बजार मूल्य ३९० विलियन डलर रहेको छ । कुरो त के पनि रहेको छ भने सन् २०२२ को पहिलो ९ महिनाभित्रै एलभीएमएच् कम्पनीले ६० बिलियन डलरको कारोवार गरेर रेकर्ड नै कायम गरेको थियो ।

आर्नो स्वयम्ले आफ्नो कम्पनीको खुद्रा बिक्रि गरिने ठाउँहरूमा बारम्बार अध्ययन र अनुगमन गरिरहन्छन् । उनको यो जाँच, परख र सुधारका कारण सामान बिक्रिमा कुनै पनि उल्लेख्य खोट र अलोकप्रियता देखिदैन । समयमै आवश्यकता र मागको ख्याल गर्ने आर्नो सामानको गुणस्तरीयता ल्याउन पछि पर्दैनन् ।

उनले आफ्ना प्रतिस्पर्धी तथा उदीयमान प्रतिस्पर्धीको निकै ख्याल गर्छन् । यति सम्म कि उनी एक दिनमा २५ विभिन्न ठाउँका खुद्रा बिक्रि कक्ष र वितरण केन्द्रमा पुगी रिपोर्ट लिने गर्दछन् ।

यसै कारण उनी फ्रान्सेली बजारमा एक नम्बरका सामान उत्पादन गर्न सफल हुँदै आएका छन् । यसले उनको कम्पनीको साख गिर्न दिएको छैन । उनको कम्पनी ब्राण्डेड पनि बनेको छ र फेसनेवल पनि बन्न सफल बनिरहेको छ ।

यो कम्पनीले प्रतिकात्मक सामान उत्पादन गरेर आफ्नो गौरवमय विरासतलाई निरन्तरता दिन सफल भइरहेको छ ।