• असार २२ २०८१, शुक्रबार

‘भेडीकम्बलको प्वाल’ बाट जनयुद्द हेर्दा पाठकले के भने ?

चैत्र २६ २०७९, आईतवार

घोराही, २५ चैत्र ।
एक सय ९२ पृष्ठको कथा संग्रह ‘भेडीकम्बलको प्वाल’ मा मंगलवार तिन घण्टा बढि बहस भयो । लेखक क्षितिज मगरले पटक पटक जवाफ दिनुभयो, वक्ता र स्रोताले अनेक कोणबाट तौलिरहे । पुस्तकका विषयवस्तुका बारेमा जानकारीमूलक पदमप्रसाद पोख्रेलको समिक्षा पछि छलफल शुरुभयो ।

सबै पात्रहरु वर्गप्रति इमान्दार छन् । कहिँ चुकेको भेटिन । नेपाली समाजका तत्कालिन घाउलाई सन्चो गराउने काम जनयुद्धले गरेको हो । बहिर्गमित जनमुक्ति सेना पाँच लाखको चेक बोकेर आए तर उनीहरुसित घोराही–तुलसीपुर गर्ने भाडा थिएन । त्यो पीडा पनि यसमा उल्लेख छ । मानव मुक्ति बाहेक सबै भ्रम हो भन्ने जनमुक्ति सेनाका पूर्वकमाण्डर सुटेड बुटेड भएर चिल्लो कारबाट ओर्लिए ।

महंगो कारबाट झरेका उनले मन्दिरमा फुल चढाए । ढोग गरे र सुख समृद्धिको वर मागे । हिजो तास खेल्नेका हात काट्ने, गहनाहरु पार्टीमा बुझाउन उर्दी लगाउने मन्दिरमा गाईका आन्द्रा टंगाउन लगाउने उनै कमाण्डर थिए । यसरी पुस्तकको निर्मम समिक्ष पोख्रेलले गर्नुभयो । यसका सकारात्मक नकारात्मक पाटा केलाउने ढोका खुल्यो । यसैगरी माओवादी र अरु बिचको अन्तर पनि खोतल्नुभयो । एकले अर्को पार्टीको विवाहमा नजाने ।

सहयोग नगर्ने, भान्सा नचल्ने र छोरीचेली पनि लिनुदिनु विपक्षी पार्टीसित नगर्ने चलन थियो । अहिले आपसमा लड्नेहरु बिचको मिलिजुली सरकार छ । पुस्तक पढ्दा जनयुद्धताकाका हरेक मान्छेलाई छुन्छ । उहाँले पुस्तक सकारात्मक परिणाम ल्याउन सकारात्मक सोँच बनाउन सिकाउँछ । सतमार्गमा लाग्न जरुरी छ भन्ने सन्देश दिन्छ भन्दै टुंगाउनुभयो । आयोजक उदाहरण समूहका अभियान्ताहरु चाँजोपाँजो नमिलाउँदै नेपाल पत्रकार महासंघ दाङ शाखाको सभा हलका कुर्सी अतिथिले भरिइसकेका थिए ।

साहित्यिक कार्यक्रममा त्यति धेरैको सहभागिता विरलै हुने मध्यको एक भनेर टिप्पणी गरे । आयोजकलाई अत्याउने उपस्थिति थियो । राप्ती साहित्य परिषदका केन्द्रिय सल्लाहकार पुरुषोत्तम खनाल, अध्यक्ष टिकाराम उदासी, वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, लेखक संघका अध्यक्ष खगराज न्यौपाने, प्रगतिशिल लेखक संघका लुम्बिनी प्रदेश अध्यक्ष केशव थापा, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशिल गौतम, नागरिक समाजका संयोजक केबी मशाल लगायत प्राध्यापक, शिक्षक, विद्यार्थी पत्रकार र साहित्यकार यसक्षेत्रका दिग्गज बौद्धिक वर्गको उपस्थिति निकै बलियो र उत्साह जनक थियो । पुस्तकका लेखक मगरले कथा संग्रहको परिचय गराउँदै ९० प्रतिशत यथार्थमा आधारित रहेको बताउनुभयो ।

‘आँशु पसिना र रगतले लेखिएका कथाहरु हुन्’ उहाँले भन्नुभयो, ‘कसैलाई नेतृत्वमा लग्न र तिनका आसेपासेका सुविधाका लागि जनयुद्ध लडिएको थिएन । अहिले त्यहि भएको छ ।’ उहाँले यसरी पुस्तक परिचय गराएपछि सहजकर्ता उदाहरण समूहका घनश्याम अस्तित्व वक्ता तर्फ प्रश्न गर्न लाग्नुभयो ।

उहाँले प्रा.केशव सुवेदी, डा.गोविन्द आचार्य र सुमिनालाई पटक पटक सोध्नुभयो । विभिन्न पाटा पक्षबाट प्रश्न उठाउनुभयो । मञ्चका वक्ताहरुको लहरमा प्रा.केशव सुवेदी पहिलो हुनुहुन्थ्यो । उहाँले जनयुद्धको पक्ष वा विपक्षमा नलेखिएको आग्रह पूर्वाग्रह नभएको विचारको श्रृंखला भनेर टिप्पणी गर्नुभयो । ‘भेडीकम्बलको प्वालबाट तिन दशक अघि देखिको समाज हेर्न सकिन्छ’ उहाँले भन्नुभयो, ‘नेपाली समाजको चेतना स्तर, समाजको समस्या, जीवन शैली र राजनीतिक पद्धति बुझ्ने मद्धत गर्दछ ।’

समाज परिवर्तनको अपेक्षा थियो । जनआन्दोलन पछि २०६२÷२०६३ पछि त्यो केहि पनि पाएनौं भन्नुभयो । पुस्तकको बाहिरी कभर पृष्ठको प्वालमा बन्दुक बोकेको योद्धाको तस्विर देख्दा युद्धको स्तुति आफ्नो प्रशंसा होला, अरुप्रति आग्रह पूर्वाग्रह होला भन्ने सोँचेको थिएँ । गहिरो गरी अध्ययन गरेपछि पक्ष–विपक्ष दुवै लेखिएको पाइयो । बन्दुक लिएर प्राण हत्केलामा राखेर हिंड्नेको सपना पूरा भएको छैन । सबैकुरा कवितात्मक मिठो शैलिमा लेख्नुभएको भन्दै सुवेदीले लेखक क्षितिजलाई सलाम गर्न चाहान्छु भन्नुभयो । त्यतिमै उहाँ सिमित रहनुभएन ।

‘जनयुद्ध गराउनेले हिजै गल्ति गरेका थिए’ प्रा. सुवेदीले भन्नुभयो, ‘प्रजातान्त्रिक व्यवस्थाका बिरुद्ध शसस्त्र युद्ध गरिएको थियो । यस्तो दुनियाँको कहिँपनि हुँदैन ।’ यसरी राजतन्त्रलाई ठिक भन्ने जस्तो भाव झल्कियो । यसरी पुस्तकले जनयुद्ध अघिको व्यवस्थालाई पनि मूल्यांकन गर्ने बनायो । अहिलेको अवस्थाका बारेमा आक्रोश र घृणा तथा विमती ओकल्न लगायो । यसकै विषयमा बहस गर्न १० दिन लगाएर अध्ययन गरेको अर्का वक्ता डा. गोविन्द आचार्यको भनाई थियो ।

‘जनयुद्धकालको फेहरिस्त छ’ डा. आचार्यले भन्नुभयो ‘कथा काल्पनिक छैनन् ।’ उहाँका अनुसार प्रकृति र संस्कृतिको अभिव्यक्ति एकदमै राम्रो छ । रोल्पाको स्थानीय भाषा र संस्कृति छ । भूगोल र प्राकृतिक सुन्दरता छन् । बरु कथाहरु एउटै सन्दर्भमा आएको हुनाले शिर्षक हटाई उपन्यास बनाउन पनि सकिन्छ । त्यो झन राम्रो हुन्छ ।

उहाँका अनुसार बलिदानी चतुर, टाठाबाठा धुर्तहरुको जीवन फेर्नका लागि थिएन । अहिले त्यहि भइरहेको छ भन्ने सन्देश दिन्छ । युद्धको उदेश्य सुन्दर समाज निर्माण थियो । अहिले व्यक्ति समृद्ध बनाउने बन्यो । उहाँले सुझाव पदिन दिनुभयो । कथामा वास्तिविक व्यक्तिको नामै नलेखेको भए हुन्थ्यो । जनमुक्ति सेनाको क्यान्टोनमेन्टमा भएको बदमासी, कमाण्डरहरुले यार्सा किन्न गरेको लगानी, सुन खरीद जस्ता कुरा पुस्तकका आधारमा मुद्धा लाग्ने खालका छन् ।

क्यान्टोनमेन्ट व्यवस्थापकहरुले मात्रै होइन सामान्य कर्मचारीले पनि लाखौँ रकम खाए भन्ने छ । ठुले राईको राम्रो घडि समेत कमाण्डरले लगेको प्रसंग छ । यो पुस्तकलाई आधार मानेर मुद्धा हाल्ने हो भनेपनि लाग्ने देखिन्छ । यति भनेपछि हलभरीका मानिस चलमलाए, निकै उत्सुकताले हेर्न थाले । लेखकको साहस, आक्रोस अनि सत्य लेख्ने शैलीको प्रशंसामा तालि दिए । अर्का वक्ता सुमिनाका अनुसार सबै कथामा नछुटेको विषय जनयुद्ध हो । लेखकलाई नचिन्नेले पनि कथा संग्रह पढेपछि पृष्ठिभूमि चिन्न सक्छ ।

‘कम्युनिष्टमा प्रगतिशिल चेतना त हुने नै भयो’ उहाँले भन्नुभयो, ‘पितृ सत्तात्मक सोँच पनि छ । परम्परागत भन्दा माथि उठेर हेर्नुपर्दथ्यो ।’ उहाँका अनुसार महिला घरभित्रै थुनिनुपर्छ भन्ने परम्परागत मान्यता त्याग्नुपर्छ । गुन्यो चोलो लगाउनेहरु अरु फेसन गरेर विकसित वा परिवर्तित हुनु गलत होइन । लेखकलाई नचिन्नेले पनि पुस्तक पढेपछि चिन्नसक्छ । सबै कथामा नछुटेको विषय जनयुद्ध नै हो । उहाँले पनि जनयुद्धका नायकले धरातल छोडेको । अहिले जनयुद्ध गलत थियो, रगत बगाउनु भुल भयो भन्ने वातावरण बनाएको बताउनुभयो ।

उहाँले जनयुद्ध भन्दा गर्व गर्नुपर्नेमा खिसिट्यूरी गर्ने, अपमान, गाली गलौज गर्ने र योद्धाको अपमान हुने वातावरण नायकले बनाएको बताउनुभयो । यस्ता विषयमा पुस्तक स्पष्टसँग बोलेको हुनाले पठनीय र संग्रह योगय छ । यसरी टिप्पणी गरेपछि बहसलाई तिन राउण्डसम्म घुमाइयो । अन्तिम प्रश्न अबका कथा कसरी लेखिनुपर्छ भन्ने सहजकर्ताको प्रश्नमा वक्ता सुमिनाले मेरो विषय भित्र पर्दैन भनेर इमान्दारीता देखाउनुभयो । कथाका कमजोरीहरु केलाउँदै वक्ताहरुले पात्रको वास्तविक नाम नहालेको भए उत्कृष्ट साहित्य हुन्थ्यो भनेर सुधार्न सुझाव दिए ।

जुन कथामा पनि उही जनयुद्धको एकरसता आएकाले पट्यार लाग्न सक्ने बताए । तटस्थता गुमाउनु हुन्नथ्यो । कथा पढ्दा कुन दलको हो भनेर चिनिनु हुन्नथ्यो भने । कथा आठ १० पेजमा अटाउने गरी छोटा बनाउन सल्लाह दिए । भविश्य सुन्दर छ । कलम चलाई राख्न र साहित्यको शिखर चुम्नु भनि शुभकामना दिए । बहसको अन्तमा प्रकाशकको अनुभूति सुनाउन उठ्नुभएका विवेक सिर्जनशील प्रकाशन प्रालिका विजयराज आचार्य निकै भावुक बन्नुभयोे ।

उहाँले प्रतिक्रान्ति र युद्धका नायकलाई हरियो सर्प लेख्नुपर्ने दिनको कल्पना नगरेको बताउनुभयो । ‘१० वर्ष लड्यो उसले ग्लानी हुनेगरी लेख्छ र त्यहि छापेर मैले कमाउने दिन आउला भन्ने कल्पना पनि गरेका थिइन’ प्रकाशक आचार्यले भन्नुभयो, ‘सामाजिक हिसाबले, जनताका हिसाबले प्रगतिवादी दृष्टिकोणबाट हेर्दा खतरनाक छ ।’ उहाँले क्रान्तिपछि विजयका कथा पढ्न नपाएको गुनासो गर्नुभयो ।

कसैलाई अध्यक्ष, प्रमुख अतिथि अतिथि नबनाइएको अनौपचारिक कार्यक्रममा दर्शक दिर्घाबाट अन्तिमसम्म पनि तपाईंलाई कस्तो महसुस भएको छ भन्ने प्रश्न आइरहे । त्यसको जवाफमा वर्गीय पक्षधारताका आधारमा लेखेको छु । विचारलाई आधार बनाएर लेखिएपछि पक्षधरता देखिन्छ भनेर लेखक मगरले जवाफ दिनुभयो । यसलाई भर्खर यो आँखीझ्याल हो बाँकी धेरै छन् ।

थाहा पाए जतिका कुरा म इमान्दारीपूर्वक लेख्छु । निरासा कुण्ठा बाँड्दैन वास्तविकता जस्ताको तस्तै उतार्छु भनेर वाचा गर्दै आशापूर्ण जवाफ दिनुभयो । उदाहरण समूहको तर्फबाट खेमराज गाउँलेले मायाको मायाको चिनो दिएपछि सञ्चालक तिर्थराज चौधरीले समापन गर्नुभयो ।