विश्व धनाढ्यहरूको वार्षिक सूची प्रकाशन गर्ने फोर्ब्सले यस वर्ष नेपालका उद्योगी विनोद चौधरीलाई विश्वका धनाढ्यहरूको पङ्क्तिमा २०३ स्थान अगाडि ल्याएर नयाँ पहिचान दिएको छ । चौधरीको कूल सम्पत्ति १.४ बिलियन अमेरिकी डलर रहेको हिसाब गरिदिएको छ ।
यति मात्र होइन, फोर्ब्सले चौधरीको सम्पत्तिमा वृद्धि भएको र हुँदै जाने संकेतस्वरुप ‘ग्रीन सिग्नल’ समेत दिएको छ । यसले दक्षिण एशियामा चौधरी उदीयमान अर्बपतिका रूपमा देखापरेको स्पष्ट सङ्केत गरेको छ ।
सन् २०२२ फेब्रुअरीमा प्रकाशित रियल टाइम बिलिनयर्समा १८ सय ७० स्थानमा रहेका विलिनियर चौधरी फोर्ब्सको विश्व धनाढ्यहरूको सूचीमा १६ सय ४७ औँ स्थान अगाडि आउन सफल भएका छन् ।
उमेरका हिसाबले ६ दशक पार गरिसकेका चौधरीको चौधरी सीजी कर्प, नाबिल बैंक, सीजी फुड र वाइ वाइ आदि उत्पादन कम्पनीहरू सञ्चालनमा छन् । यी कम्पनी अतिरिक्त विविधिकरणमा चौधरीका स्रोत खुलेका छन् ।
गत वर्षभन्दा धनाढ्यहरूको सूची घटेको बेलामा चौधरीको स्थान अग्रताउन्मुख रहनु नेपाल र नेपालीका लागि पनि खुसीको कुरा हो । यस वर्ष फोर्ब्सले सन् २०२३ का लागि २६ सय ४० जना धनाढ्यको सूची सार्वजनिक गरेको छ । गत वर्ष यही सूचीमा २६ सय ६८ जना धनाढ्य अटाएका थिए ।
सन् २०२३ को फोर्ब्स प्रक्षेपणमा यस अघिका वर्षहरूमा झैं धेरै अमेरिकी बिलेनियर अटाएका छन् । त्यसपछि चीन, मकाउ र भारत रहेका छन् । फोर्ब्सका अनुसार विश्वका सर्वाधिक धनी व्यक्तिमा फ्रान्सका बेर्नार आर्नो रहेका छन् । यस अघि विश्वका पहिलो धनी व्यक्ति रहेका एलन मस्क भने यस पटक दोस्रो स्थानमा झरेका छन् । प्रायः पहिलो वा दोस्रो हुने जेफ बेजोस अहिले तेस्रो स्थानमा रहेका छन् ।