काठमाडौँ । नेपाली सेनाको साइबर स्पेसमा हमला गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका वडानम्बर १० घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडानम्बर १६ बाटुलेचौर बस्ने सागर ढकाल रहेका छन् ।
साइबर स्पेसमा अनधिकृत पहुँच पुर्याउने उद्देश्यले विभिन्न समयमा साइबर हमला भएको पाइएपछि सेनाले नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरेको थियो ।
सोहीअनुसार साइबर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा २१ वर्षीय ढकालको संलग्नता खुलेको थियो । लगत्तै साइबर ब्यूरोको टोलीले बिहीबार बाटुलेचौरबाटै पक्राउ गरेको हो ।
ब्यूरोका सूचना अधिकारी पशुपतिकुमार रायले उनीमाथि विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको बताए ।