• माघ १७ २०८१, बिहीबार

क्रान्तिकारी माओवादी र नेकपा (बहुमत)ले बैसाख १८ गते पार्टी एकता घोषणा गर्दै

चैत्र २४ २०७९, शुक्रबार

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच पार्टी एकता हुने निश्चित भएको छ । ती दुई पार्टीले आज पार्टी एकता सम्बन्धि पत्रकार सम्मेलन गरी आगामी बैसाख १८ गते अर्थात् अन्तराष्ट्रिय मजदूर दिवसका दिन पार्टी एकताको घोषणा गर्ने बताएका छन् ।

आजको पत्रकार सम्मेलनमा दुवै पार्टीका नेताहरुले आफूहरुबीच सैद्धान्तिक तथा वैचारिक हिसावले मतैक्यता भएपछि पार्टी एकता नै गर्ने बारेमा अन्तिम टुंगोमा पुगेको बताए ।

पार्टी एकताको लागि यी पार्टीहरुबीच लामो समयदेखि विविध विषयमा छलफल चल्दै आएको थियो । एकता संयोजन समिति नै बनाएर उनीहरुले यसबारेमा छलफल गरेका थिए ।

मालेमावादी सिद्धान्त, नयाँ जनवादी कार्यक्रम, वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम, क्रान्तिमा बल प्रयाोगको अनिवार्य भूमिका, जनवादी केन्द्रियताको संगठन परिचालन पद्धती, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्य, पुँजीवादी अधिनायकत्वको विरुद्ध सर्वहारा अधिनायकत्व, सर्वहारा अन्तराष्ट्रियवाद, आत्मनिर्णयको अधिकार सहितको उत्पीडित राष्ट्रियता तथा क्षेत्रको स्वशासन तथा महान साँस्कृतिक क्रान्तिप्रतिको प्रतिवद्धता नै आफूहरुबीचको पार्टी एकताको आधार भएको बताए ।

क्रान्तिकारी माओवादीको नेतृत्व मोहन वैद्यले गरेका छन् भने नेकपा बहुमतको नेतृत्व धर्मेन्द्र बास्तोलाले गरेका छन् । एक वर्षअघि बास्तोलाले विप्लवले संसदीय व्यवस्थालाई स्वीकारेर स्थानीय चुनावमा गएका कारण नेकपाबाट अलग्गिएर अर्को पार्टी बनाएका थिए ।