काठमाडौं । आज विश्व स्वास्थ्य दिवस मनाइँदैछ । विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ ।
सबैका लागि स्वास्थ्य भन्ने नाराका साथ स्वास्थ्य प्रवर्द्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकालाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ ।
सन् १९४८ मा डब्लूएचओले पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । सभाले सन् १९५० देखि लागू हुने गरी प्रत्येक वर्षको ७ अप्रिललाई स्वास्थ्य दिवस मनाउँने निर्णय गरेको थियो । पहिलो विश्व स्वास्थ्य दिवस अप्रिल ७, १९५० मा मनाइयो र त्यसयता हरेक वर्ष यो दिवस मनाइँदै आएको छ । विश्व स्वास्थ्य संगठनको स्थापना भएको पाँच वर्षपछि सन् १९५३ मा नेपाल सदस्य राष्ट्र बनेको थियो। नेपालको संविधानले हरेक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभूत गरेको छ । तर, निःशुल्क स्वास्थ्य सेवा पाउन भने नागरिकलाई सास्ती छ । कतिपय ठाउँका स्वास्थ्य संस्थामा औषधि समेत अभाव छ ।