• मंसिर १५ २०८१, शनिबार

संघीयता कार्यान्वयनमा समस्या देखा पर्न थाल्यो : प्रम दाहाल

चैत्र २३ २०७९, बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयतालाई मजबुद बनाएर मात्रै संविधान कार्यान्वयन गर्न सकिने बताएका छन् ।

सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिले संघीयता कार्यान्वयनमा समस्या देखापर्न थालेको भन्दै यसलाई सवल र मजबुद बनाएर मात्रै संविधानको सफल कार्यान्वयन गर्न सकिने बताए ।

उनले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मिहेनत गर्न निर्देशन दिए । सरकार आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा रहेकोमा बताउँदै उनले विगतभन्दा नयाँ र गुणात्मक प्रकृतिको योजना निर्माण र बजेट व्यवस्थाका लागि आवश्यक तयारी गर्नसमेत निर्देशन दिए ।

अहिलेको विषम परिस्थितिमा खर्चमा मितव्ययिता गर्ने, स्रोत परिचालनमा विशेष मिहेनत गर्ने र उत्पादन बढाउने कार्यमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।

उनले अर्थतन्त्रका संरचनागत समस्या समाधान गर्न अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले कार्ययोजना निर्माण गर्नसमेत निर्देशन दिए ।