• मंसिर १२ २०८१, बुधबार

साउदी क्लबद्वारा मेसीलाई वार्षिक ५ हजार ७ सय ६० डलरको अफर

चैत्र २२ २०७९, बुधबार

काठमाडौं । अर्जेन्टिनी कप्तान लिओनल मेसीले यो सिजनपछि फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छोड्ने मन बनाइसकेको अन्तर्राष्ट्रिय मिडियाले दाबी गरेका छन्। पीएसजीसँग उनको सम्झौता जुनमा समाप्त हुँदैछ। पीएसजीले मेसीसमक्ष नयाँ सम्झौताको प्रस्ताव राखेको छ। तर, अर्जेन्टिनी कप्तानले अहिलेसम्म सम्झौतापत्रमा हस्ताक्षर गरेका छैनन्।

यो कुरा थाहा पाएको बार्सिलोनाले पुनः मेसीलाई क्लबमा फर्काउने तयारी गरिरहेको बेला अर्को रोचक तथ्य बाहिर आएको छ। साउदी अरेबियाको क्लब अल हिलालले मेसीसमक्ष ५ हजार ७६० करोड रुपैयाँ तलबको आकर्षक अफर राखेको छ।

पीएसजीमा हाल विश्वका ठूला खेलाडीको जमघट छ। मेसीबाहेक यो टिममा फ्रान्सका युवा कप्तान किलियन एमबाप्पे, ब्राजिलका नेइमार जुनिय र स्पेनका पूर्वकप्तान सर्जियो रामोस समावेश छन्। यति दिग्गज खेलाडीको जमघट हुँदा पनि टिम लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

पीएसजीमा खेलाडीबीच तालमेलको कमी देखिएको छ। यसले मेसीलाई निरास तुल्याएको स्पष्ट देख्न सकिन्छ। प्रशिक्षक क्रिस्टोफ गाल्टियरको टोली छनोट र उनको योजनाबाट मेसी त्यति खुसी देखिँदैनन्। मेसी यी सबै कुराहरूका बाबजुद पीएसजीसँग जोडिरहन चाहन्थे। तर, पछिल्लो केही खेलमा घरेलु मैदान पार्क डेस प्रिन्सेसमा घरेलु समर्थकबाटै मेसीविरूद्ध हुटिङ भएपछि उनी निरास छन्।

समर्थकको व्यवहारलाई लिएर विश्वका हस्ती फुटबल खेलाडीहरूले अप्रसन्नता व्यक्त गरेका छन्। बार्सिलोनाबाट खेलिसकेका फ्रान्सका पूर्वस्ट्राइकर थियरी हेनरीले यो घटनालाई दुःखद भनेका छन्। उनले भनेका छन्–महान खेलाडीलाई यसरी हुटिङ गर्नु फुटबलकै अपमान हो।

चर्चित फुटबल पत्रकार फ्रेब्रिजिओ रोमानोले गत मंगलबार एउटा कुराको खुलासा गर्दै भनेका छन्, साउदी अरबको क्लब अल हिलालले मेसीलाई आधिकारीक रूपमा क्लबसँग जोडिन प्रस्ताव गरेको छ। यस बापत उसले हरेक वर्ष ४०० मिलियन युरोको प्रस्ताव अघि सारेको छ। मेसीले यो प्रस्तावको विषयमा केही बोलेका छैनन्।

यदि मेसी अल हिलालतर्फ लागे विश्व फुटबलमा युरोपको दबदबा समाप्त हुने बताइएको छ। फ्रेब्रिजियोले भनेका छन्, ‘अहिले मेसीको मन युरोपमै बसेर खेल्ने छ। उनी २०२४ को कोपा अमेरिकाको तयारीका लागि पनि केही समय युरोपबाटै फुटबल खेल्न चाहन्छन्।’

मेसीका चिरपरिचित प्रतिद्वन्द्वी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि साउदी अरबकै क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। गत वर्ष उनलाई अल नस्रले २०० मिलियन युरोमा सम्झौता गरेको थियो। यदि मेसी अल हिलालमा आबद्ध भए, उनी रोनाल्डोभन्दा बढी तलब पाउने खेलाडी बन्ने छन्।