• मंसिर ७ २०८१, शुक्रबार

ट्वीटर लोगोमा देखिएको कुकुरको बास्तविकता के हो ?

चैत्र २२ २०७९, बुधबार

काठमाडौं । ट्वीटरमा सोमबारदेखि एकाएक ‘ब्लु बर्ड’ (निलो चरा) को ठाउँमा कुकुरको लोगो देखिन थालेको छ । कुनै जानकारी बिनै ट्वीटरको लोगो चेन्ज भएपछि धेरै आश्चर्यमा परेका छन् ।

कतिपय प्रयोगकर्ताले ट्वीटर ह्यान्डल ह्याक भएको हो कि भन्ने आशंका गरे । तर सोही अड्कलबाजीका बिच ट्वीटर मालिक एलन मस्कले ट्वीटरको लोगो परिवर्तन भएको सन्देश प्रवाह गरे । उनले सांकेतिक रूपमा निलो चराको चिन्ह पुरानो भएको भन्दै कुकुरको फोटो राखेर मिम (मजाकका लागि बनाइएको पोस्ट) ट्वीट गरे ।

ट्वीटरमा निलो चराको ठाउँमा कुकुरको फोटो राख्नुले उक्त प्लटफर्मको लोगो नै कुकुर भएको धेरैको तर्क छ । यद्यपि उक्त लोगो केही दिनका लागि परिवर्तन गरिएको हो वा सधैंका लागि परिवर्तन गरियो भन्नेबारे औपचारिक जानकारी आइसकेको छैन । अहिले ट्वीटरमा भएको नयाँ लोगोलाई लिएर ह्याशट्याग डज (#DOGE) ट्रेन्डिङमा छ ।

ट्वीटरमा देखिएको कुकुरको नाम कसरी चर्चित बन्यो त ?

डज एउटा त्यस्तो इन्टरनेट मिम हो, जुन सन् २०१३ तिर धेरै नै चर्चित बनेको थियो । जापानका ‘अत्सुको साताे’ नाम भएका व्यक्तिले सन् २०१० मा आफ्नो ‘शिवा इनु’ प्रजातिको कुकुरको फोटो खिचेका थिए ।

उनले उक्त कुकुरको फोटो इन्टरनेटमा डज (Doge) शीर्षक राखेर पोस्ट गरे । त्यसपछि मानिसहरूले उक्त फोटोलाई मिमका रूपमा प्रयोग गर्न थाले ।

डज मिम टम्ब्लर र रेडिट जस्ता प्लेटफर्ममा निकै भाइरल भयो । मानिसहरूले आफ्नो ब्लगपोस्ट तथा वेबसाइटमा राख्न थाले । हरेक कुरामा उक्त फोटोलाई मिम बनाउँदै प्रयोग गर्ने प्रचलन बढ्यो ।

कुकुरको अनुहारमा देखिएको भावले नै धेरै ध्यान खिच्याे । अहिले १७ वर्ष पुगेको याे कुकुरको अवस्था कस्तो छ भन्ने कुराको कुनै सूचना बाहिर आएको छैन ।

आखिर मस्कले ट्वीटरमा राखेको ‘कुकुर’ के हो त ?
ट्वीटरमा लोगो परिवर्तन भएसँगै डजक्वाइनको चर्चा र मूल्य दुवै उचालिएको छ । डजक्वाइन एक क्रिप्टोकरेन्सी हो, जसमा उक्त कुकुरको तस्वीर राखिएको छ ।

डजक्वाइन एउटा क्रिप्टोकरेन्सी हो, जसलाई सफ्टवेयर इन्जिनियर बिली मार्कस र ज्याक्सन पाल्मरले सन् २०१३ मा तयार पारेका थिए । खासमा यो क्वाइनको सुरुवात बिटक्वाइन (अर्को क्रिप्टोकरेन्सी) को मजाक उडाउन गरिएको थियो ।

त्यसबेला बिटक्वाइन नयाँ भएकाले पनि मानिसहरू विभिन्न तरिकाले मजाक उडाउने गर्थे । त्यही समयमा ‘डज मिम’ भाइरल भएको थियो । यसमा भएको कुकुरको अनुहारको भाव यति रहस्यमय देखिन्छ कि, हरेक पटक त्यसले केही भन्न खोजिरहेको अनुभव हुन्छ ।