• मंसिर १५ २०८१, शनिबार

इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा दर

चैत्र २१ २०७९, मंगलवार

काठमाडौँ । इन्धनको मूल्यमा कटौती भएसँगै हवाई भाडा घटेको छ।

वायुसेवा सञ्चालक संघले आज घटेको भाडाको सूची सार्वजनिक गरेको हो। संघका अनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ। यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्ने छ।

काठमाडौँबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँले भाडा घटेको छ। माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ। काठमाडौँबाट भद्रपुरका लागि ३०० रुपैयाँ भाडा घटेको छ। विराटनगरलाई २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ।

नेपालगञ्जमा ३२५, तुम्लिङटारका लागि १८५, सिमराका लागि ९० रुपैयाँ, सुर्खेतका लागि ३४५ र राजविराजका लागि २०५ रुपैयाँ भाडा घटेको छ। काठमाडौँबाट भैरहवा उडानको भाडा २०५ रुपैयाँले घटेर ३ हजार २९५ रुपैयाँ कायम भएको छ। यो भाडादर २२ चैतदेखि लागु हुनेछ।