काठमाडौं । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन भइसकेकाले अब घर फर्किन मिटरब्याज पीडितलाई आग्रह गरेको छ ।
गत शनिबार मिटरब्याज पीडितको एक समूहसँग ५ बुँदे सम्झौता भएको दुई दिनपछि नै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं आएर आन्दोलनमा छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याज पीडितको समस्या समाधान गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माे मिटरब्याज पीडितहरुले मन्त्रिपरिषदको निर्णय थाहा नपाएको हुन सक्ने बताइन् । ‘मन्त्रिपरिषदको निर्णयको उद्देश्य थाहा नपाएर आउनुभएको हुनसक्छ, उहाँहरुसँग छलफल हुन्छ’ उनले भनिन्, ‘म के भन्छु भने काठमाडौंमा दुःख पाएर बस्ने होइन, उहाँहरु आफ्नो ठाउँमा फर्किनुपर्छ ।’
मिटरब्याज पीडितको समस्या छ कि छैन भन्ने अन्योलमा सरकार नरहेको भन्दै उनले छ भनेर नै समस्या समाधान गर्न आयोग गठन गरेको बताइन् ।
‘सरकारले तत्काल समस्या समाधान गर्न जाँचबुझ आयोग गठन गरेको छ । यो आयोगमार्फत् मिटरब्याज पीडितको समस्या समाधान सदाका लागि गर्छ’ उनले भनिन् ।