काठमाडौं । विज्ञहरूले साउदी अरबर यसका सहयोगीहरूले तेल उत्पादनमा धेरै प्रकारले कटौती गर्ने अचानक गरेको निर्णयलाई विभिन्न कोणले हेरिरहेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले साउदी अरबका युवराज मोहम्मद बिन सलमानले अब अमेरिकाको कुरा सुनी नरहेको र राष्ट्रवादी ऊर्जा नीति अन्तर्गत अगाडि बढिरहेको लेखेको छ ।
सो जर्नलले युवराजले साउदी अरबको विदेश नीतिलाई नयाँ दिशा दिइरहेको भन्दै लेखेको छ । साउदी अरबको तेल कटौतीको निर्णय स्तब्ध पारिदिने खालको छ । आइतबार साउदी अरबले तेल उत्पादनमा कटौतीको घोषणा गरेपछि सोमबार कच्चा तेलको मूल्य एकै दिनमा ६.३ प्रतिशतले बढेर तेलको मूल्य प्रति ब्यारेल ८४.९३ डलर पुग्यो ।
सो जर्नलले लेखेको छ कि छ महिना भन्दा कम समयमा, साउदी अरबले दोस्रो पटक अमेरिकी चिन्तालाई बेवास्ता गरेको छ ।
युक्रेन युद्धका कारण तेलको मूल्य नबढास् भनेर अमेरिका लगातार कोसिस गरिरहेको छ । तेलको मूल्य बढ्यो भने यसले रुसलाई सहयोग मिल्नेछ । अमेरिकी राष्ट्रपति जो बाइडेन यही सोच लिएर गत वर्ष जुलाईमा साउदी अरब गएका थिए तर साउदीले यस विषयमा कुनै सहयोग गरेन ।
आइतबार तेल उत्पादन कटौती गर्ने निर्णय गरेर साउदी अरबले तेलबाट नाफा कमाउन जे पनि गर्ने सङ्केत गरेको विज्ञहरू बताउँछन् ।
विश्लेषकहरूका अनुसार युवराज मोहम्मद बिन सलमानले ‘साउदी फस्र्ट’ को नीति अपनाइरहेका छन् । जर्नलले लेखेको छ, ‘साउदी अरब अब अमेरिकाको तुष्टिकरणको लागि काम गर्न तयार छैन । अमेरिकाले अब साउदी अरबलाई कुनै अनुरोध गरेमा उसले आफ्नो हितलाई बेवास्ता गर्दैन । अमेरिकी अधिकारीहरूले साउदी अरबको यो निर्णय अचम्मको कुरा नभएको तर यो निर्णयलाई न्यायोचित भन्न नसकिने बताएका छन् । यसका बाबजुद पनि अमेरिकाले साउदी अरब महत्वपूर्ण साझेदार भएको बताउँदै आएको छ ।’
साउदी अरबको तेल कटौतीको घोषणापछि लगानी बैङ्किङ कम्पनी गोल्डम्यान साक्सले तेलको मूल्य प्रति ब्यारेल १०० डलर पुग्न सक्ने अनुमान गरेको छ ।