• मंसिर २० २०८१, बिहीबार

सुराकीका नाममा हुने अपारदर्शी खर्च रोक

चैत्र २० २०७९, सोमबार

गृहमन्त्री बने लगतै नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयमा सुराकीका नाममा हुने अपारदर्शी रकम खर्चसम्बन्धी नियमावली खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरे । गृहमन्त्रीमा बहाल भएपछि उनको यो पहिलो निर्णयको सबैले सरहाना गरेका छन् ।

उनको यो निर्णय मन्त्रिपरिषदबाट पारित भएर कार्यान्वयनमा आएमा सुराकीको नाममा हुने अर्बौ खर्च हुनबाट जोगिनेछ । जुन पैसाको न लेखापरीक्षण हुन्छ न कसैलाई हिसाब देखाउन नै पर्छ । तजबिजी अधिकारका नाममा वर्षौदेखि मन्त्री र सचिवले सुराकीका नाममा दुरुपयोग गर्दै आएको रकमले न त अपराध नियन्त्रणमा कुनै उपलब्धी भएको पाइदैन ।

यसरी सुराकीका नाममा तजबिजमा निश्चित रकम खर्च गर्ने अधिकार गृह मन्त्रालयका मन्त्री, सचिवका साथै प्रमुख जिल्ला अधिकारी दिइँदै आएको छ । हिसाब देखाउन र लेखापरीक्षण नहुने सुराकी खर्चको धेरै रकम दुरुपयोग हुँदै आएको मानिन्छ । ३२ वर्षदेखि बिल भर्पाईबेगरै अविच्छिन्न रूपमा यस्तो खर्च प्रदान गरिँदै आएको जुन परिपाटी र दुरुपयोग भइरहेको छैन भन्ने विषयमा प्रश्न उठेको छ ।

त्यस्तै बेहिसाब बाँडिने खर्चले कत्तिको सकारात्मक परिणाम दिइरहेको छ भन्ने प्रश्न पनि छ । यसरी बेहिसाब सुराकीको नाममा खर्चलाई थिति बनाउनु आवश्यक छ । यसरी बेहिसाब रुपमा गरिने खर्चबारे महालेखा परीक्षकको कार्यालयलाई पनि विवरण दिइदैन । गृहमन्त्रालयमा मन्त्री र सचिवले कागज लेखेकै भरमा एक सातामा यति रकम बुझिलिए भन्ने कागज बाहेक अरु केही पाइदैन ।

यस्तो प्रचलन २०४७ जेठबाटै सुरु भए पनि गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले २०५० जेठ १३ मा मन्त्रीले एक पटकमा ५० हजार र सचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न पाउने निर्णय गरेको थियो । पहिलेको निकासा बेरुजुका रूपमा देखिने भएकाले मन्त्रिपरिषद्बाट निर्णय गरेर वैधता दिइएको थियो । उक्त निर्णयमा कति पटकसम्म रकम दिने भन्ने नखुलाइँदा आफूखुसी बढेको हो । विडम्बनाको कुरा त के छ भने महालेखाले अपारदर्शी खर्चबारे पटक–पटक प्रश्न उठाइरहे पनि कुनै पनि सरकारले त्यसको सुधारको पाटोमा कसैले चासो दिएनन् । बोरु बेहिसाब खर्च गर्ने परम्परालाई निरन्तरता दिइरहे । यो क्रमलाई ब्रेक लगाउने काम हालका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरे ।

सूत्र परिचालनका नाममा गृहमन्त्री र गृहसचिवले स्वयंका लागि यो खर्च लिने र जथाभावी वितरण गर्ने विषयमा सुधार गरिनुपर्छ । यदि खर्चै गर्न पर्ने हो भने पनि त्यसको लागि कार्यविधि बनाएर खर्च गर्ने प्रणालीको विकास गरिनुपर्छ । राज्यको ढुकुटी दोहन र अपारदर्शी हिसाब रोकिनुपर्दछ । सरल उपाय र सुराकी खर्चको नाममा हुने अनियमितता मैलाउन नपाओस् ।