• मंसिर १२ २०८१, बुधबार

विराट गोल्डकपको फाइनलमा विराटनगर सिटीद्वारा केराला पराजीत

चैत्र १६ २०७९, बिहीबार

काठमाडौं । विराट गोल्डकप फुटबलको फाइनलमा भारतको केरलाको लुका सकर क्लबलाई हराउँदै आयोजक विराटनगर सिटी फुटबल क्लब ६ दशकपछि उपाधि जित्न सफल भएको छ ।

बिहीबार राति सम्पन्न सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा केरलालाई ४-० को फराकिलो गोल अन्तरले हराउँदै घरेलु टोलीले उपाधि जितेको हो । घरेलु टोली विराटनगरले गत वर्षको सहिद स्मारक लिग विजेता मच्छिन्द्रको सेट नै मैदानमा उतारेको थियो ।

विराटनगरको जितमा नेपालका स्टार खेलाडी विमल घर्तीमगर नायक सावित भए । पहिलो गोलका लागि अवसर सिर्जना गरेका विमलले टिमका लागि दोस्रो गोल गरेका थिए । मैदानमा छाएर खेलेका उनले थुप्रै सुन्दर अवसरहरू सिर्जना गरेर विपक्षीमाथि दबाब सिर्जना गरेका थिए ।

सहिद रंगशालामा घरेलु दर्शकले खचाखच मैदानमा आयोजक टिमले २०१९ सालको सफलता ६१ वर्षपछि दोहोर्याएको हो । २०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो ।

विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रूपैयाँ हात पारेको छ । उपविजेता केरलाले १० लाख १५ हजारमा चित्त बुझाएको छ । विराटनगर सिटीका अफिज ओलावाले, विमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गरेका थिए । स्टेफनले पेनाल्टीको अवसर खेर फाल्दा टोली ५-० को अग्रता बनाउनबाट चुकेको थियो ।

खेल अवधिभरि विराटनगरले केरलालाई पूरापूर दबाबमा राखेको थियो । खेलको सातौं मिनेटमा विराटनगर सिटीका अफिज ओलावालेले गोल गरी टिमलाई सुरूआती अग्रता दिलाएका थिए । डिबक्स नजिकैबाट विमल घर्तीमगरले दिएको पास नियन्त्रणमा लिँदै ओलावालेले बललाई पोस्टको दिशा दिएका थिए ।

७८औं मिनेटमा विमलले पेनाल्टी एरिया बाहिरबाट क्रसबार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । युटा सुजिकीले निकालेको क्रस पासलाई विमलले गोलमा परिणत गरेका थिए । खेलको ८९औं मिनेटमा मेसुकेले गोल गरी खेल ३-० मा पुर्याएका थिए । इन्जुरी समयमा विराटनगर सिटीका अभिषेक गुरूङले गोल गरी टिमको टिमको फराकिलो जित निश्चित पारेका थिए ।

खेलको ७४औं मिनेटमा विराटनगरले पेनाल्टीको अवसर पाएको थियो । केरलाका खेलाडीले डिबक्सभित्र ह्यान्ड गरेपछि विराटनगरले पेनाल्टी पाएको थियो । पेनाल्टीमा स्टेफेनले गरेको प्रहार केरलाका गोलकिपर सनफिरले उत्कृष्ट ढंगले बचाएका थिए । खेल अवधिभरि विराटनगरले धेरै गोलको अवसर गुमाएको थियो तर केरला प्रिमियर लिगको पाँचौं टोली लुका सकरले भने आफ्नो पहिलो विदेश यात्राको फाइनललाई बिर्सन लायक तुल्यायो ।

उसले कुनै पनि समय विराटनगरको पोस्टमा बलियो चुनौती पेस गर्न सकेन । आयोजक विराटनगर सिटीका सुरज विकले म्यान अफ द म्याचको उपाधि जित्दा ११ हजार नगद पाए । प्रतियोगितामा व्यक्तिगत उपाधि पनि विराटनगरकै खेलाडीले जितेका छन् । फेयर प्ले टिमको उपाधि जित्दै जावलाखेल युथ क्लब काठमाडौंले २५ हजार नगद प्राप्त गरेको प्रतियोगितामा उच्च गोलकर्ता अभिषेक गुरूङ बनेका थिए ।

उनले फाइनलमा पनि गोल गरेका थिए । उत्कृष्ट फर्वार्डको उपाधि लुका सकरका चार्ल्स फर्कुले जित्दा उत्कृष्ट डिफेन्डरको अवार्ड विराटनगरका देवेन्द्र तामाङले जिते । उत्कृष्ट गोलरक्षक विराटनगरका कप्तानसमेत रहेका विशाल श्रेष्ठले जिते भने उत्कृष्ट मिडफिल्डर विराटनगरका युता सुजुकी घोषित भए । उत्कृष्ट कोचको उपाधि पनि विराटनगरका सन्तोष न्यौपानेले जितेका छन् । विराटनगरका मेसुके प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।