काठमाडौं। म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)लाई विघटन गरिदिएको छ ।
सैनिक सरकारको आदेशमा चल्ने त्यहाँको निर्वाचन आयोगले तोकिएका नयाँ मापदण्ड अनुसार आयोगमा दर्ता हुन नसकेपछि सुकीको पार्टी एनएलडी खारेज गरेको बताइएको हो ।
एनएलडीसहित अन्य ४० वटा दल पनि आयोगको मापदण्ड पूरा गर्न नसक्दा खारेजीमा परेका अलजजिराले जनाएको छ । सैनिक सरकारले गएको जनवरीमा राजनीतिक दलहरुलाई मापदण्ड पूरा गरेर आयोगमा दर्ता हुनका लागि दुई महिनाको समय दिएको थियो ।
एनएलडीले जेलमा रहेका आफ्ना नेताहरुको रिहाइ नभई सैनिक सरकारले गराउने चुनावमा भाग नलिने अडान राख्दै आएको छ ।