काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो ।
यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो । नेपाल १-० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपकसिंह ठकुरीको गोल गर्दै नेपालको हार टारेका हुन् ।
खेलको ५०औं मिनेटमा भुटानका गोलरक्षक छिरिङ धेन्डुपसँग ठोकिँदा अञ्जन विष्ट घाइते हुँदै मैदानबाट बाहिरिएपछि ठकुरी मैदान छिरेका थिए । भुटानसँग १-१ को बराबरीले पनि नेपाल फाइनलमा पुगेको छ । नेपालले लाओससँग १७ गते फाइनल खेल्ने छ ।
पहिलो खेलमा नेपालसहित २-० ले हारेको लाओसले भुटानलाई हराएको थियो । नेपालसँगको बराबरीका बावजुद भुटान भने घर पर्केको छ । यसअघि खेलको १९ औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गरे । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडर गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
त्यो अग्रता नियमित समयको अन्तिम मिनेटसम्म जोगाए पनि नेपालले गोल फर्कायो । यसअघि खेलको १९औं मिनेटमा भुटानका चोन्चे ग्याल्सेनले रोहित चन्दलाई बिट गरेर राम्रो अवसर सिर्जना गरेका थिए तर त्यो बल अनन्त तामाङले पोष्ट अगाडिबाट क्लियर गरेका थिए । नेपालले ४५औं मिनेटमा नवीन लामाले हानेको कर्नरमा पुजन उपरकोटीको हेड पासमा सनिस श्रेष्ठले गरेको हेडर पोष्ट माथिबाट बाहिरियो ।
७०औं मिनेटमा दिपकराज सिंह ठकुरीको सट पोष्ट माथिबाट बाहिरियो । त्यसको ७ मिनेटपछि मनिष डाँगीले भुटानी डिफेन्डरलाई बिट गर्दै दाहिने तर्फबाट हानेको बल दोस्रो बार हुँदै बाहिरियो । दोस्रो हाफको इन्जुरी समयमा नेपालले गोल गरे पनि त्यसलाई रेफ्रीले अफसाइड दिए ।
प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् । पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषद राखेपले सहयोग गरेको हो ।