• असार २२ २०८१, शुक्रबार

‘हनी ट्रयापमा पार्न खप्पिस’ भनिएका महिला साथिसँग भेट हुँदा……

चैत्र १४ २०७९, मंगलवार

हनी ट्रयापमा पारेको आरोप लागेका तीन जना महिलालाई प्रहरीले सार्वजनिक गर्दैछ भन्ने कुराले घोराहीमा हल्लीखल्ली मच्चियो । मैले पनि यो शब्द पहिलो पटक सुने झैँ लाग्यो । बुझ्दै जाँदा उनीहरु मेरै साथी रहेछन् । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन हुने भन्ने थियो । तिनको अनुहार सम्झिए म त्यहाँ जानै सकिनँ । त्यो दिन मेरा लागि असाध्यै स्तब्धतामा बित्यो । साथी अनेक तरहले बन्छन् ।

यद्यपी सबैसँग जोडिँदा स्वार्थ हुन्छ । कुरा मिल्नुपर्छ । हेर्दा राम्रो लाग्नुपर्छ । उसले गाली गरेपनि सहुँ सहुँ हुनुपर्छ । त्यस्ताले हानिहाल्यो भनेपनि रमाईलै लाग्छ । ती तीन जनामा दुई जना अलि पुराना र एक जना नौला साथी थिए । हाँस्ने बोल्ने गर्दथ्यौँ । त्यस बाहेक उनीहरुले मसित अनपेक्षित प्रस्ताव राखेनन् । मैले पनि फरक स्वार्थ राखिन । भेट हुन्थ्यौँ । चिया पियुँथ्यौँ । कहिले काहिँ नास्ता खान्थ्यौं । अनि मज्जाले हाँसेर बोल्थ्यौं । जब मैले पहिलो पटक नयाँ मुद्धा लागेको सुनेँ अनि मलाई साह्रै नरमाइलो लाग्यो ।

उनीहरुको मुखमा केही लगाएर नचिनिने बनाइएको तस्विर सहितको समाचार छ्यापछयाप्ती आयो । पत्रकार सम्मेलनमा प्रहरीको भाषा पेशेवर महिला र भद्र पुरुष भनेर लेखिएको देखेँ । सबैभन्दा बढि पीडा त्यसबेला महशुस भयो । मैले धेरै पटक मनभित्रै तर्क बितर्क गरेँ । महिलाहरुले ती पुरुषका घरमै पसेर अपहरण गरे त ? त्यो पनि होइन, होटलको कोठामा भएको कार्यक्रम भनिएको छ । अफिसमा काम गर्ने पुरुषलाई होटलको कोठामा बोकेरै लगिएको हो त ? त्यो पनि बयानमा आएन । चिया नास्ता खान त अलग्गै व्यवस्था हुन्छ ।

रेष्टुरेन्ट तथा खाजा घरमा पर्दा लगाएका कुर्सी टेबल राखिएको हुन्छन् त्यहिँ खान सकिन्छ । अनि त्यो सबै छोडेर दिउँसै सुत्ने कोठामा ती पुरुष किन गए ? ती महिला पुरुष बिचको खाजा बेडरुममै कसरी ? यस्ता विषयले त्यस दिनदेखि अहिलेसम्म घोँचिरहेको छ । ललाई फकाई लगे, यौनमा आकर्षित गरे अथवा एउटा कामले बोलाए अर्कै नाटक रचना गरि फसाए । त्यो अन्तिम फैसला हुँदासम्म अदालत बोल्ने छ नै । पुरुषलाई पीडित भनेर गोप्य राखिएको हुनाले घटनाक्रम दुई पक्षीय बुझ्न पाइन । महिलाहरु भने धरौटीमा तारिखमा छुट्नुभयो ।

उहाँहरुसँग छलफल गर्ने मौका पाएँ । धेरै खोजिनीति गर्न त मैले जरुरी ठानिन तर पनि तिमीहरुले साँच्चै ठग्न खोजेकै हौ ? एकैजनाबाट त्यत्रो असुलेर बसीबसी धनि हुन चाहेकै हौ, जस्ता कुरा ठट्टा गर्दै भनेको थिएँ । उनीहरुको जवाफ हुन्छ, त्यो बेइमान हो । शुरुमै मसित पनि महिलाहरु बोल्न चाहेका थिएनन् । एक जनालाई शहिद उमेशमार्ग बाट नेपाल बैंक तर्फ जाँदै गर्दा भेटाएँ । पुलुक्कै हेर्नुभयो र खुरुखुरु हिंड्नुभयो । मास्क भएकाले झट्टै चिन्न पनि सजिलो थिएन ।

अनेक संकोचले खुम्चिएको हुनुपर्छ भन्ने सोचेँ । अनि मैले उहाँलाई नमस्ते भनेर बालाएँ । शुरुका दिनमा सन्चो बिसन्चोका कुरा मात्रै गर्यौं । भेट बाक्लिँदै गएपछि थप कुरा भए । अहिले पनि भेट हुँदा ठ्टयौली शैलीमा नै हाँस्दै बोल्ने गरेका छौँ । केहि दिन अघि मात्रै तारिखमा आएको बेला एकैचोटी तिनजना संगसंगै भेट भयो । उनीहरुले ‘हामीलाई बलात्कारी भन्छन्, गर्भ कति वर्षको भयो हेर्न आएका छौँ’ भनेर ठटयौली पारामा हाँस्दै भने । मलाई मिसिलका बारेमा जानकारी छैन ।

सम्मानित अदालतमा चलिरहेको मुद्धा प्रभावित पार्ने चाहना पनि होइन । विकसित परिस्थितिप्रति सामान्य धारणा राख्न खोजेको मात्रै छु । म यति भन्छु उनीहरु बिचको सम्वाद थाह छैन । नियत पनि खोजिनीति गर्न चाहेको होइन । हामी कसरी सचेत हुने, फस्नबाट जोगिने र समान स्तरमा अघि बढ्ने बारे बहस चलाउन सोँच हो । यद्यपि पाठकको हातमा पुग्दाखेर व्यक्ति पिच्छे व्याख्या हुन सक्छन् । महिलालाई मात्रै अपराधि देख्नु हुन्न । हामी पुरुष पनि दोषको अंशियार बन्नुपर्छ भन्ने हो ।

त्यसपछि यो वर्ष पनि तुलसीपुर र नारायणपुरमा गरी दुईवटा त्यसै प्रकृतिका समस्याहर आएका छन् । संयोग भनौँ या पेशागत सम्बन्धका कारण तुसीपुरको हनी ट्रयाप घटनाका ती महिला पनि मेरा परिचित हुनुहुन्थ्यो । उहाँले मलाई सम्बोधन गर्दा दरबारीया भाषा प्रयोग गर्नुहुन्थ्यो । लवाई कानुन व्यवसायीको जस्तै देखिन्थ्यो । झट्ट हेर्दा बौद्धिक व्यक्तित्व मानिनु हुन्थ्योे । हिंडाई निकै भलाद्मी थियो । बोली वचन भद्र थियो । उहाँको आयश्रोत भने मलाई थाहा छैन । धेरै मानिसको तडक भडक जातिबित्ती देखिन्छ ।

आयश्रोत नदेखिने ठाँटको जीवन बिताउने धेरै मानिस छन् । बिना आधार कसैप्रति शंका गर्नु र आरोप लगाउनु हुँदैन । उहाँको पत्रकार सम्मेलनका तुलसीपुरमा भएकाले जानु परेन । प्रहरीले निम्तो पनि गर्दैन । ठ्याक्कै त भन्न सकिन, नारायणपुरको घटनामा पर्ने मध्ये एकजना महिला पनि चिनेचिने जस्तै लागेको छ । उहाँको नाम थाहा थिएन, तर कतै बोलेको हुँ भन्नेमा फोटा देखेर विश्वस्त हुँदै गएको छु । यसको मतलव हनी ट्रयापमा पार्ने अभियोग लागेका मध्ये आधा बढि महिला मैले चिनेकै पर्नुभएको छ ।

कसैको पनि अन्तिम फैसला नभएकाले दोषी भन्न मिल्दैन । साथी भन्न पाइन्छ होला । ती साथिहरुका बारेमा पटक पटकको प्रयासपछि यी अक्षर लेख्ने आँट गरेको छु । बजारभरी अनेक हल्ला छन् । फलानीलाई फलानोले सजाएको छ भन्छन् । मेरी प्यारी आज यता गाको छ भनेको सुनिन्छ । स्कुटी किनिदियो, जति नयाँ फेसन आउँछ त्यो किनिदिन्छ, गहना बनाइदिन्छ, चाडबाडमा खर्च दिन्छ, जस्ता कुराहरु छ्यापछ्याप्ती छन् । सबै उसैले पुर्याइ दिएको छ भन्छन् । तर, त्यसको एकिन प्रमाण जुटाउन सकिँदैन ।

यति बेला झन यतिमा बार्गेनिङ भयो रे अनि यति लाखमा कुरा मिलेको रहेछ । यस्ता कुराहरु व्यापक छन् । सहि वा गलत पनि हुन सक्छन् तर, हावा नचली पात हल्लिँदैन । पैसावालबाट केहि न केहि कमजोरी भएको छ । उनीहरुले कि त फरक शैली अपनाउनु पर्छ, होइन भने भएको पैसा थुत्न सक्छन् । ‘राम्रा महिला सबै आफ्ना’ भन्ने मनोभाव पुरुषमा व्याप्त छ । हिन्दु धर्मका पुराणहरुमा जेठाजुले बुहारीसित सम्भोग गरेका प्रसंग छन् । त्यो पनि आफ्नै आमाको निर्देशनमा सहवास भएको पाइन्छ । राम्री महिला भेटिए फकाउने, हरण गर्ने, भेष बदलेर, छल गरेर लैजाने प्रशस्त कथा छन् । त्यहि संस्कार अहिले पनि यदाकदा केटी तानेर लैजाने चलन भेटाउन सकिन्छ ।

महिलाले मन नपराए पनि पुरुषले चाहेपछि लतारेर, घिसारेर बल प्रयोग गरेर केटी लगिन्छ । राम्री महिलालाई ओच्छयान बनाउनुमा नै पुरुषत्व देखिन्छ । लामै समय पिछा लाग्ने चलन छ । यस्तै चाहना राख्ने मानिसहरु अहिले हनी ट्रयाप लगायतका फन्दा झेल्दैछन् । आफूले भोग गरेको महिला निजी सम्पती ठान्ने गरिन्छ । विवाहपछि आफू यौनमा सकृय हुँदा वा नहुँदा आफ्नै पकडमा राख्ने प्रयास हुन्छ । आफू उठ्न , बस्न नसक्ने अवस्थामा झन श्रीमतीलाई बढि सताएको भेटिन्छ । मैले सन्तुष्टि दिन सकिन अन्त खोजिहोला भन्ने डरले क्रोधित भएको बुझिन्छ ।

श्रीमतीलाई आफनो निजी सम्पति ठान्नेहरु बाहिरका सित भने भोगविलासको लालच गर्छन् । पेशेवर महिलाको तलास हुन्छ । लाइन लागेर पालैपालो भोग्ने गरेको पनि भेटिन्छ । यसरी पैसा दिएर सेवा लिने ठाउँमा चोखो जुठोको सवाल उठेको भेटिंदैन । आफ्नी श्रीमतीलाई कसैले हात लगायो, कर्के नजरले हेर्यो वा छोयो कि त उत्पात मच्चाइन्छ । अब हनी ट्रयापमै फर्किउँ, सकभर धेरै महिलालाई भोगेर महापुरुष बन्ने दौडमा धोका खाएका हुन् ? वा पुरुषको चरित्रको सवाल उठाएर महिलाहरुले लुट्ने दाउँ खोजेका हुन्, सम्मानित अदालतले ठहर गर्ला नै ।

मैले भन्नैपर्ने कुरा आफ्नै श्रीमतीले पनि सिधै चाहना व्यक्त गर्दैनन् । अपरिचित पुरुषलाई महिलाले यौन प्रस्ताव राखेको पाएको छैन । बरु चिन्दै नचिनेको महिलासित यौन आसयका कुरा गरेर ठक्कर खाएका उदाहरण मसित पनि प्रसस्तै छन् । आक्रामक शैलीमा यौन प्रस्ताव राख्दा केही साइवर अपराधमा सजाय भोगिरहेका पनि छन् । आफ्नो फेसबुक पेजमार्फत् सिधा सिधा यौन र सम्भोगका कुरा लेख्ने व्यक्तिमा पुन काजी पर्नुहुन्छ । उहाँले लेखेका कैयौँ स्टाटसलाई मानिसहरु कमजोर आँक्ने गर्छन् । त्यसरी लेख्ने रस पस्नुमा आन्तरिक कारण पनि होला नै । यौन उत्तेजना वा चाहना सबैको हुन्छ ।

उहाँले जसरी अभिव्यक्त गर्ने कमै छन् । यौन सम्बन्धि वास्तविक कुरा लेख्ने आँट उहाँमा छ । यो आलेख तयार गर्ने प्रेरणा तथा सल्लाह पनि उहाँले नै दिनुभएको थियो । विरोध गरेको पनि भेटिन्छ, विरोध गर्नु भनेको चासो दिनुपनि हो । जसको मतलवै राखिन्न त्यसको टिप्पणी नै हुँदैन । अब विवाह नगरेका व्यक्तिलाई यौन र प्रेमको अधिकार हुँदैन भन्न मिल्दैन । विवाह गरेपछि उसैसित मात्रै सम्भोग गर्नुपर्छ भन्न पनि सकिंदैन । त्यसो त अनिच्छित यौन सम्पर्क गरे वैवाहिक बलात्कारको मुद्धा लाग्छ । कैयौँ पुरुषहरु जेलमा हुनुहुन्छ ।

अनि श्रीमतीको इच्छा कुर्दै बसेर आफ्नो चाहना मार भन्नुपनि अन्याय हो । घरमा श्रीमतीलाई सन्तुष्ट पार्न नसक्ने बाहिर बाहिर चाहार्दै हिंड्नुपनि अन्याय हो । तर विरामी भएको, त्यसपछि चाहना नभएको र आफू असक्षम भएको बेला महिला वा पुरुषले अरुबाट सन्तुष्टि लिनु टिप्पणी गर्ने विषय बन्नुहुन्न । कसैका कोठामा कोही गएको कुरा ठुलै अपराध ठानि झ्याली पिटाउनु ठिक छैन । अनेक बहाना र नाटक गरेर आकर्षित गर्ने थप लाभ लिनु अपराध हो । हनी ट्रयापमा पार्ने भनिएका महिलाहरु मेरै साथि हुन् । उनीहरुलाई निर्दोष भनेको होइन तर तिनीहरु अन्यायमा पनि पर्नु हुन्न । त्यस्ता घटनामा एउटा भद्र र अर्को पेशेवर अपराधी हुँदैन ।