काठमाडौं । भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले आइतबार ३ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा मोरङका केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुरका सानु भण्डारी छन् । आरोपीहरूले १३ करोड ६३ लाख ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोज केसीका अनुसार ८१ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् । आरोपीहरूले नेपाली नागरिकलाई शरणार्थीको परिचयपत्र बनाएर ‘अमेरिका सपना’ देखाएको अनुसन्धानबाट खुलेको छ ।
सो ठगीको श्रृङ्खला २०७७ देखि सुरु भएको थियो । रकम लिएपछि झापाको बेलडाँगी शिविर, मोरङको पथरी र चितवनको सफारी होटलमा बोलाएर आरोपीहरूले विभिन्न बहानामा हैरानी दिने तर अमेरिका नपठाएपछि पीडितहरू प्रहरीकहाँ पुगेका थिए । आरोपीहरूले तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र महेश्वर न्यौपानेसँगको मिलेमतोमा सो काम गरेको प्रहरीलाई बयान छन् ।
अहिले प्रहरीको हिरासतमा हुनेहरूले सचिव टेकनारायण पाण्डेलाई ५० लाख नगद बुझाएको बयान दिएका छन् । पाण्डे हाल उपराष्ट्रपतिको कार्यालयमा कार्यरत छन् । अनुसन्धानबाट पूर्व गृहसचिव महेश्वर न्यौपानेको पनि संलग्नता देखिएको प्रहरीको भनाइ छ ।
अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘आरोपीहरूले पूर्वसचिव महेश्वर न्यौपानेसँग पनि कुरा भएको बताएका छन्, सो ठगीमा राजनीतिक र उच्च पदस्थ कर्मचारीको मिलेमतो देखिएको छ ।’
सचिव पाण्डे २०७९ भदौमा गृहबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका थिए । बालकृष्ण खाँण गृहमन्त्री हुँदा अमेरिका जान छुटेका ४ सय ६१ जनालाई प्रक्रिया पुर्याएर जिम्मा लगाउन झापाका सहायक प्रजिअको नेतृत्वमा समिति गठन गरियो । समितिले काम गरिरहेको तर, टुङ्गिन बाँकी रहेको तत्कालीन गृह-सचिव टेकनारायण पाण्डेले बताए । सचिव पाण्डेले आरोपीहरूले लगाएको आरोप अस्वीकार गरे । उनले भने,‘पक्राउ परेकाहरु मेरो सम्पर्कका मानिस हैनन्, पैसा लिने कुरै भएन ।’
दाङ घर भएका सन्देश शर्माविरुद्ध गृह मन्त्रालयमा त्यसबेला नै उजुरी परेको पाण्डेले जिकिर गरेका छन् । उनले भने, ‘हामीले प्रहरीलाई भनिरहेका थियौँ ।’ यसबारे सम्पर्क गर्दा न्यौपाने भने सम्पर्कमा आएनन् ।
दाङ घर भएका सन्देश शर्मा ठगीको मुख्य योजनाकार हुन् । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिलमा आवद्ध सन्देश आफू पनि अमेरिका जान्छु भन्थे । मोरङको पथरी शनिश्चरे नगरपालिका-१० घर भएर धापखेल बस्ने ४९ वर्षीय केशव दुलालसँग मिलेर उनले समूह बनाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
दुलाल पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाको स्वकिय सचिव हुन् । सन्देश शर्माको योजनामा आरोपीहरूले भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा एक जना बराबर २० देखि २४ लाखसम्म रकम असुलेको थाहा भएको छ । पीडितहरूले २०७९ जेठ १८ मा उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका हुन् ।
ठगीको मुख्य योजनाकार शर्मा फरार रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. केसीले बताए । ठगीमा संलग्नहरूले पीडितहरूलाई बायोमेट्रिक गर्न भनेर बेलडाँगी, विराटनगर र सौराहा बोलाएर हैरानी दिएका थिए । पीडितहरूलाई उनीहरूले विराट मेडिकल कलेजमा बोलाएर मेडिकल गराएका थिए तर, भनेको समयमा अमेरिका पठाउन नसकेपछि घटना बाहिरियो ।
ठगीमा संलग्न गिरोहले अमेरिका जान छुटेकाहरूलाई समेट्न तत्कालीन सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको समितिले बुझाएको सुझावमा अनुसूची नै थपेको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘आरोपीहरूले सो प्रतिवेदनको अनुसूचीमा पैसा लिएका मान्छेहरूको नाम थप्न सफल भएको अनुसन्धानबाट देखिन्छ ।’
उनीहरुले अमेरिका पठाउने ‘ग्यारेन्टी’को रुपमा ८ करोड बराबरको चेक पीडितहरूलाई दिएको भेटिएको छ । यस्तै ठगी गरेको ६५ लाख विभिन्न व्यक्तिको खातामा डिपोजिट गरिदिएको खुलेको छ । तत्कालीन मन्त्रालयका पदाधिकारी र शरणार्थी समस्या समाधान सम्बन्धी कार्यदलका सदस्यहरूको मिलेमतो रहेको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
(राजेश भण्डारीले रातोपाटीमा लेखेका छन् ।)