• असार २२ २०८१, शुक्रबार

सरकारी जागीर खान नसकेर पत्रकार बनेको हो र !

चैत्र १३ २०७९, सोमबार

‘पत्रकार आएपनि कार्यक्रममा बस्दैनन् । हाम्रा कुरा सुन्दैनन् । आफू आफू बिचमा कुरा गर्छन् । बाहिर बसेर गफ लगाउँछन् । भित्रै बसेपनि ध्यान हामीतिर हुँदैन । भन्ने जनगुनासो छ’ नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको तेस्रो साधारण सभामा फागुन ५ गते रिपोर्ट गरियो ।
यो कुराले मलाई अलिक बढि नै छोयो ।

पत्रकार क्यासेट होइनन्, जसले सबैका सबै कुरा रेकर्ड गर्न सकोस् । पत्रकार डम्पिङ साइट पनि होइनन्, सबैका दिमागका बिकार ग्रहण गरेर सफा पारुन् । यसरी तर्क पनि निस्कियो । आफूलाई अप्रिय लाग्ने र प्रचार प्रसार गरेर अरुलाई उपलब्धि नहुने कुरा पत्रकारले सुन्नैपर्छ भन्ने छैन । त्यसैले गुनासो गलत हो कि भन्ने लाग्यो । मैले पनि केही कार्यक्रममा सुन्ने जाँगर गरेको छैन ।

सम्बन्धित विषयमा कखरा पनि थाहा नपाएको व्यक्तिले भाषण गर्छ । कुनै अमुक पदको सहाराले असम्बन्धित विषयको अतिथि अनि वक्ता बन्छ । सामान्य जानकारी समेत नराख्ने क्षेत्रमा प्रवचन दिन थालेपछि तिनका कुरा किन सुन्नैपर्छ ? यति मात्रै होइन घमण्डका लागि वक्ता बन्छन् । अतिथि मोहका लागि वक्ता बन्छन् । यति भनेर पनि मनले सन्चो दिएन । कुनैपनि कार्यक्रम स्थलमा पुगेर आफ्नै गफमा मस्त हुनु पत्रकारिताको अनुशासन होइन । कार्यक्रममा जाने भनेकै सुन्न जाने हो ।

कतिपय पत्रकार बोल्न नपाएपछि ठुस्किने रोग छ । अतिथि बनाएर मञ्चमा नराख्दा अपमान ठान्ने प्रवृति छ । त्यसो गरिनु भनेको कार्यक्रमको अपमान, निम्तोको अवहेलना र सुन्ने कर्मप्रतिको व्यवास्था हो । सहभागिलाई अघिल्लो दिन साँझैदेखि भालुबाङमा बास बस्ने व्यवस्था थियो । भोलिपल्ट पनि नौ बजेसम्म पुग्न सकिने भनियो । म पनि १० बजे पुगेको थिएँ । तर उद्घाटज सत्र सकिन सकिन लाग्दा पनि उपस्थिति चलिरहेको थियो । । अनुपस्थित हुनेको संख्या पनि कम थिएन । पत्रकारले अहिले गर्ने कर्मको चित्र देखिन्थ्यो । समयमा कार्यक्रममा नपुग्ने, सकभर जाँदै नजाने फोन म्यासेजबाट काम चलाउने वा एक जना गयो भने उसैले पठाएको शेयर गर्ने चलन छ ।

फोन, गफ वा बाहिर टहलिएर बियाँलिन्छौँ यसकारण जनगुनासो पनि धेरै हद सहि हो । खास कुरा भन्दा नीतिगत सवालमा चिप्लिने नेतृत्वको प्रवृत्ति जहाँ तहिँ छ । त्यहि नीतिले समातिहाल्यो भने आफ्नो बिरानो छुट्याउने प्रचलन पनि छ । त्यसकै आधारमा गरिएका निर्णय र पक्षिय प्रयासले बर्बादीमा छौँ । हेर्दा मानवीय त्रुटी लागेपनि नेतृत्वको कमजोरीले समग्र समस्या ल्याउँछन् ।

यसरी आफ्ना अगुवाले बिगार्ने कुसंस्कारलाई हटाउने जिम्मेवारी पत्रकारले लिनै पर्छ । अग्रज पत्रकारहरुबाट सिक्ने हो भने झन् बर्बाद बनाउने हुन् कि भन्ने डर लाग्ने अवस्था छ । कतिपय बार्गेनिङमा कहलिएका छन् । केहिले पैसा आयो भने जस्तो पनि गर्न तयार हुन्छन् । कतिपयले नकारात्मक चिज मात्रै समाचार हो भनेर रटाउँछन् । कतिपय यति लाछी छन् कि एक हप्तासम्म तालिम एक्लै चलाई दिन्छन् । कतिपय राजनीतिक नियुक्ति बिना बाँच्नै सक्दैन भन्छन् ।

केहिले चुनाव आउँदा पार्टीबाट पैसा मागेर सञ्चार माध्यम चलाउँछन् । यस्ता अनेक विकृतिले धेरै जेठा र अनुभवी पत्रकारले जनविश्वास गुमाउँदै गरेको भेटिन्छ ।

सरकारको नजिक पुगेका पत्रकारले नीति नियम मिचेर आफू र आफ्नो मिडिया पोस्छन् । यसरी आफूले हसुर्न पाएपछि जे पनि गर्ने पत्रकारबाट नागरिकले अपेक्षा गर्दैन । सरकारी कर्मचारीलाई पत्रकार नभनौँ । प्रेस सल्लाहकार, प्रेस संयोजक भएको पत्रकार निश्पक्ष कसरी हुन्छ ? भन्ने प्रश्न थियो ।

यसको खास्सै खरो जवाफ त आएन । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यले अघिल्लो पटक उम्मेदवारलाई विदाई गर्ने अभियान अदालतले रोकेको जानकारी दिनुभयो । उहाँका अनुसार अदालतले उम्मेदवार उठ्नु भनेको सेवा मुलक काम हो भनेर व्याख्या गरेको छ । त्यसैले अरु निर्णय गरेपनि यसरी अदालतले उल्ट्याउने हो कि भन्ने चिन्तामा पत्रकार महासंघ देखियो । त्यससँगै भोटका लागि पनि सदस्यता चाहिन्छ भन्नेमा पत्रकारका नेताहरु एकमत छन् । बाँडिचुडी सदस्य संख्या बढाउँछन् । शुद्धिकरणमा पाँच हजार सदस्य घटाएको रहेछ । चुनाव आयो त्यति नै थप भएका रहेछन् । त्यस अवसरमा पूर्वअध्यक्ष आचार्यले पत्रकार महासंघको शुरुवातका कुरा पनि उठाउनु भयो ।

त्यसबेला पत्रकार खोजेर भेटिंदैन्थे । जिल्लामा १५ जना पुगेपछि शाखा गठन गर्न पाइने विधान बन्यो । त्यसका लागि लेख्न जानेका शिक्षक, कर्मचारी लगायत पनि सजिलै पत्रकार बने । अहिले धेरै पत्रकार उत्पादन भएका छन् । व्यवसायिक पत्रकारकै संख्या निकै ठूलो छ । शुद्ध पत्रकारका लागि शुद्धिकरण गर्न लागिएको छ । महासंघका महासचिव रोशन पुरीका अनुसार १३ हजार १६ जना पत्रकार महासंघका सदस्य छन् । यस पटक फेरि नयाँ सदस्यता खुलाइएको छ ।

देशैभरी र विदेशबाट पनि आवेदन आउनेछन् । सबै भन्दा कान्छो शाखा रुकुम पूर्व लगायत ७७ वटै जिल्लामा शाखा छन् । प्रतिष्ठान १२ वटा, एशोसियट १२ वटा र पत्रकार महासंघका वैदेशीक शाखा छन् । अब परिधि बनाएर केन्द्रले पठाउने त्यसैमा हाल्दै शुद्धिकरण गर्ने काम जिल्लाको हो । उहाँले भने जस्तै जिल्ला शाखाले गरे भने शुद्धिकरण सम्भव छ । सरकारको बजेट एउटै मिडियामा फरक फरक शिर्षकमा दिएको भन्दै सदस्यहरुले आपत्ति जनाएका थिए ।

त्यस विषयमा पत्रकार महासंघ लुम्बिनी प्रदेशले लिखित रुपमै असहमति जनाई सुधार्न सुझाव दिएको महासचिव विक्रम खड्काले जानकारी दिनुभयो । ठुला सञ्चारमाध्यम मोटाउने र सानाहरु बन्द हुने अवस्था आउन नदिन लागिपरेको अध्यक्ष बसन्त गिरीको भनाई थियो । यतिबेलाका सञ्चार सुविधाले कोही पनि साना ठूला छैनन् । त्यसमा पनि स्थानीय सरकारले आफ्ना क्षेत्रमा विज्ञापन सूचना उपलब्ध गराउनु पर्छ ।

काठमाण्डौ पठाउने काम बन्द गर्नुपर्छ । यसका लागि शाखा र प्रदेशले आवश्यक पहल गर्नुपर्छ भनेर जवाफ दिए । पत्रकारले वार्षिक बुझाउने लेवी एक हजार बढि भयो भनेर आवाज उठेको थियो । त्यसको जवाफ दिँदै आयोजकले भनेको थियो, त्यहि एक हजारबाट केन्द्रलाई एक सय २५, प्रदेशलाई एक सय २५, जिल्ला शाखामा दुई सय ५० र पत्रकार कल्याणकारी कोषमा पाँच सय रुपैयाँ जम्मा भएको जवाफ दिए ।

त्यसपछि भने कुनैपनि परिषद सदस्य पत्रकारले प्रतिवाद गरेनन् । यसरी देखाएको हिसाव पछि पत्रकारको वार्षिक एक हजार लेबी घट्ने देखिएन । सञ्चार गृहबाट मर्कामा परेका पत्रकारले उजुरी नदिने समस्या छ भनेर महासंघले कुरा श्रमजीवी तर्फ फर्कायो । पत्रकार महासंघले आन्दोलन थालनी गरेपनि पीडित पत्रकार बोल्दै बोलेनन् भन्यो ।

आफ्ना पीडा देखाउँदैनन् । आफै अन्यायमा परेको पत्रकारले अरुको न्यायका लागि कसरी लड्छ ? उजुरी गर्नुस् हामी अदालतमा जानु परेपनि निःशुल्क व्यवस्था मिलाउँछौँ । भनेका थिए । अहिलेसम्म त्यसरी अदालतै पुग्नुपर्ने समस्या निकै न्यून छन् । सञ्चार गृहसँग बसेर हल भएका छन् । कतिपयले काम गरेको ठाउँमा नियुक्ति पत्र लगायत आधारै छैन । राजनीतिक आस्था र गुटका आधारमा कामबाट निकाल्ने, न्यूनतम पारिश्रमिकले तोकेको तलवले पनि बाँच्न नसक्ने अवस्था छ । धेरै मिडियाले त्यो पनि दिएका छैनन् ।

राजनीतिक भर्तिकेन्द्र बनाएर मर्यादित पत्रकारिता रहन सकेन । राजनीतिक भागबण्डा खोज्नेले पत्रकार बन्न आफै लाज मान्नुपर्ने हो । यसरी प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश महासचिव मिनु गौतम कुर्लिनु भयो । यति भनिरहँदा उहाँ आफै राजनीतिक भातृ संगठन जस्तै मानिने हुनुहुन्थ्यो । सबै पत्रकार कुनै न कुनै पार्टी निकट पत्रकार संगठनमा आबद्ध छौँ । त्यसले पनि नपुगेर पार्टीको पद पनि छ ।

यस्ता कुराबाट अलग रहेर सबैको पत्रकार र पत्रकारिता गराउन जरुरी छ । अरु केहि गर्न नसकी पत्रकार बन्न आयो भन्ने भाष्य परिवर्तन गर्न सबै पत्रकार मेहनत गर्नुपर्ने प्रेस युनियका लुम्बिनी प्रदेश अध्यक्ष नविन गिरीले पीडा पोख्नुभयो । उहाँले भनेजस्तै सरकारी जागिर खान नसकेर, लोकसेवा पढ्न नसकेर, क्याम्पस पढ्न नसकेर पत्रकार बनेको भन्नेहरु धेरै छन् ।

उनीहरुसँग प्रतिवाद गर्नुभन्दा पनि पढाईलाई प्राथमिकता दिनुपर्ने हो । हामी भने न पत्रिका पढ्छौँ, न पुस्तक किन्छौँ अरुको जस्तै औसत जीवन बिताउन चाहन्छौँ । रस रंग खानपिनमा भुल्न खोज्छौँ । अध्ययन र लेखनमा लगाव छैन । त्यसैले आलोचनाबाट बच्दैनौँ । यहाँ ३० वर्षदेखि पत्रकारिता गरेपनि लेखाइको स्तरमा विकासै नहुने समस्या छ ।

यसकारण पनि अध्यक्ष गिरीले उठाएको कुरा प्रासंगिक छ । मिडिया हाउस सुक्दैजाने पत्रकार पलायन हुने क्रम रोक्न आवश्यक रहेको पे्रस सेन्टर लुम्बिनीका अध्यक्ष मानसिंह विकको भनाई थियो । यसरी नेता पत्रकार र श्रमजीवी पत्रकारका कुरा सुन्दा हामीले केही सुधार गर्नुपर्छ भन्नेमा पुगेको छु । जसले गर्दा आम मानिसहरु पत्रकारलाई इज्जत गरुन् । यत्तिको त मै लेखेल्छु, यहि पनि जानेको रहेनछ, आफ्नो बानी यस्तो छ के गर्ला यस्ता किसिमका हेलाँ होँचो गर्ने आलोचनाबाट जोगिन जरुरी छ ।

त्यसका लागि एक मात्र विकल्प अध्ययन हो । भाषण नेताहरुले गर्छन् । प्रशिक्षण विषय विज्ञहरुले दिन्छन् । पद कार्यकर्ताले खोज्छन् । पत्रकारले पत्रकारिता गर्छन् । अरुको सुन्छन र धेरैलाई सुनाउँछन् । मलाई लाग्छ पत्रकारको कर्म र धर्म यहि हो । व्यापारी, ठेकेदार कर्मचारी हुनुछ भने पत्रकारको पास बोक्नु आवश्यक छैन । पेशा छोडेर त्यता लागे हुन्छ । पत्रकारिताबाट गुजारा चल्दैन असन्तुष्ट हुनेले पनि पेशा छोड्न सकिन्छ । खुशीले पत्रकार हुने हो र पत्रकारिताबाट पुग्छ भने गरौँ । पत्रकारले सुन्दैनन् भन्ने गुनासो रहेछ । यो गुनासो मेटाउन व्यक्तिगत र सांगठनिक हिसाबले एकमत भएर लागौं ।