• मंसिर १२ २०८१, बुधबार

लगातार तेस्रो जित निकाल्दै एपीएफ फाइनलमा प्रवेश

चैत्र ११ २०७९, शनिबार

काठमाडौँ । ललितपुर मेयर्स कप ट्वान्टी-२० क्रिकेटमा लगातार तीन वटा खेल जित्दै एपीएफ फाइनलमा प्रवेश गरेको छ । कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै विभागीय टोली एपीएफ राजधानीमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

यससँगै एपीएफ एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ । कोशीले दिएको ८८ रनको लक्ष्य एपीएफले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्दै उपाधि नजिक पुगेको हो । एपीएफका लागि ममता चौधरीले अविजित २१ रन बनाइन् । कप्तान सीता राना मगरले १९ रन बनाउँदा इन्दु बर्माले १८ रनको पारी खेलिन् । यस्तै ओपनर ज्योति पाण्डेले ११ र रोमा थापाले अविजित ११ रनको पारी खेलिन् । कोशी प्रदेशका लागि अलिशा खडिया, कप्तान रुविना क्षेत्री, निशा साहले समान १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८७ रन बनायो । कोशीका लागि काजल श्रेष्ठले २९ तथा कप्तान रुविना क्षेत्री २४ रन बनाउँदा अप्सरी बेगमले २२ रन बनाइन् । यस्तै स्मृति कटुवाल ८ रनमा रनआउट भइन् । एपीएफका लागि कप्तान सिता राना मगरले ३ तथा इन्दु बर्माले १ विकेट लिइन् ।