• मंसिर १५ २०८१, शनिबार

जाँदाजाँदै गण्डकीका मूख्यमन्त्रीले बाँडे ६६ लाख, कस्ले कति लिए ?

चैत्र ९ २०७९, बिहीबार

कास्की । गण्डकी प्रदेश सरकारले आर्थिक सहायताका नाममा पहुँचवालालाई लाखौँ रुपैयाँ वितरण गरेको पाइएको छ । राज्यकोषबाट यसरी लाखौँ रकम लैजानेमा सत्ता निकटका शुभेच्छुक संस्थाहरू छन् । उनीहरूले कार्यक्रममा सहभागी हुन जाँदाको यातायात खर्चदेखि तिजमा दर खाने कार्यक्रमका लागि भनेर राज्यकोषबाट रकम लिएको पाइएको छ ।

सरकारले संघ-संस्थाहरूलाई रकम दिँदा आर्थिक सहायता सम्बन्धी कार्यविधि, २०७६ अनुसार उपलब्ध गराउनु पर्छ । तर, कार्यविधिमा उल्लेखित उद्देश्य बाहेक पनि सरकारले निकटताका आधारमा चालु आर्थिक वर्षमा मात्रै ६६ लाख रुपैयाँ बाँडेको हो ।

कार्यविधिको दफा ३ अनुसार सरकारले राहत तथा पुनस्थापना, भाषा, संस्कृति संरक्षण, सामुदायिक भवन, वृद्धाश्रम, खेलकुद विकास लगायतका कार्यक्रम गर्नका लागि संघ-संस्थालाई अनुदान सहायता प्रदान गर्ने उल्लेख गरिएको छ । यी कार्यक्रमका लागि मुख्यमन्त्रीले एकलाख रुपैयाँसम्म सहायता उपलब्ध गराउन सक्ने कार्यविधिमा उल्लेख गरिएको छ । तर, गत मंसिरमा निर्वाचन सकिएर नयाँ सरकार बन्ने समयावधि भित्र तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले १० दिनको फरकमा ६६ लाख रुपैयाँ वितरण गरेको पाइएको हो ।

मंसिर ४ गते प्रदेशसभा निर्वाचन भएपछि गण्डकीमा पुस २५ गतेमात्रै सरकार गठन भएको थियो । मुख्यमन्त्री पोखरेलले सरकार गठन हुनुभन्दा अगाडि नै मंसिर १९ गते ३२ लाख ३० हजार रुपैयाँ वितरण गर्ने निणर्य गरेका थिए । त्यसको १० दिन पनि नहुँदै मंसिर २७ गते उनले पुनः ३३ लाख ३० हजार रकम वितरणको निणर्य गरेका थिए ।

एक लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउनको लागि मन्त्रिपरिषदको निणर्य नचाहिने कार्यविधिको फाइदा उठाउँदै उनले पत्रकारदेखि पार्टी कार्यालयसम्मलाई रकम दिएका हुन् । गत भदौ ४ गते नेपाल निजामती कर्मचारी युनियन कास्कीले शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम गर्यो । सोही कार्यक्रममा सहयोग भन्दै तत्कालीन मुख्यमन्त्री पोखरेलसमक्ष संस्थाले आर्थिक सहयोग माग गर्यो । कार्यक्रम सकिएको तीन महिनापछि पोखरेलले यो संस्थालाई एक लाख रुपैयाँ दिए ।

आफ्नो सेवा सुविधा डिजिटल प्रविधि अनलाइनबाट प्रवाह गर्ने नाममा सांदीपन मिडिया प्रालिले ४० हजार रुपैयाँ लगेको छ । यसका सञ्चालक कास्की कांग्रेसका नेता हुन् । पोखरा २५ हेम्जाको इन्द्रेणी आमा समूहलाई पोखरेलले एक लाख रुपैयाँ दिएका छन् । यो संस्थाले टेबुल, कुर्सी, सोफा लगायतका जिन्सी सामान खरिदका लागि सहयोग भन्दै निवेदन दिएको थियो ।

आर्थिक सहायता कार्यविधि अनुसार कुर्सी टेबुल खरिदको लागि सहायता उपलब्ध गराउन मिल्दैन । कार्यविधिको उद्देश्य विपरीत रहेपनि ६९ संस्थाले विभिन्न नाममा राज्यकोषबाट रकम लगेका हुन् । स्मारिका प्रकाशनको नाममा नेपाल महिला उत्थान संघ सामुदायिक सिकाइ केन्द्रले पनि एक लाख रुपैयाँ लगेको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका ४ रम्घाको यो संस्थाले स्मारिका प्रकाशनकै लागि भनेर सहयोग मागेको थियो । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका लागि भनेर सरकारले नै बजेट विनियोजन गरेको छ । आफ्नै नेतृत्वमा बजेट ल्याएपनि पोखरेलले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका लागि भनेर पोखराकै रेडियो बाराहीलाई एक लाख रुपैयाँ दिएका छन् ।

कम्प्लिट गार्डेन ट्रेडर्सलाई महिलाहरूलाई सिप प्रदान गरी स्वरोजगार बनाउने कार्यका लागि भनेर एक लाख रुपैयाँ लगेको छ । यो ट्रेडर्सको नामको रकम पोषराज पौडेलले लगेका छन् । महिलाहरूलाई आर्थिक सामाजिक रूपमा सशक्त बनाउनको लागि तालिम सञ्चालन गर्ने नाममा नवलपुरको कावासोती नगरपालिका २ ले मिलिजिुली महिला बहुउद्देश्यीय सहकारीले पनि एक लाख रुपैयाँ लगेको छ ।

नवलपुरकै नेपाल आमा समूहले पनि लैंगिक समानता तथा महिला सशक्तिकरण सचेतना सम्बन्धी एक दिन कार्यक्रम गर्न भनेर एक लाख रुपैयाँ लगेको छ । कांग्रेसको प्रदेश पार्टी कार्यालयमा रहेको बीपी स्मृति पुस्तकालयलाई पनि तत्कालीन मुख्यमन्त्री पोखरेलले एक लाख रुपैयाँ उपलब्ध गराएका छन् । पुस्तकालयको भौतिक सुधार र पुस्तक खरिद भन्दै उक्त रकम पार्टी कार्यालयका मुख्य सचिव पदम श्रेष्ठले लेका हुन् ।

योगराज पौडेल अध्यक्ष रहेको सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराले पनि अफिस सञ्चालन, मासिक कार्यक्रम र पत्रिका प्रकाशनको नाममा एक लाख रुपैयाँ लगेको हो । नवलपुरका २ स्थानमा महिलाहरूको क्षमता अभिवृद्धिका लागि तालिम भन्दै स्टार कम्युनिकेसन एन्ड मल्टिमिडियाका प्रबन्ध निर्देशक अर्जुन सापकोटाले एक लाख रुपैयाँ पाएका छन् ।
स्थानीय सरकारका जनप्रतिनिधिलाई तालिम दिने नाममा पनि प्रदेश सरकारले एक लाख रुपैयाँ सहयोग गरेको छ ।

पूर्व मुख्यमन्त्री पोखरेलले माछापुच्छ्रे गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधि र अगुवा महिलाहरूलाई लैंगिक समता र सामाजिक समावेशीकरण कार्यक्रमका लागि ५० हजार रुपैयाँ दिएका हुन् । यो कार्यक्रम भने टिम अर्गनाइजिङ लोकल इन्स्टिच्युसनले सञ्चालन गर्ने भनेर सहयोग मागेको थियो । पत्रकार महासंघ गण्डकीले प्रदेश समितिको साधारण सभाका लागि भनेर एक लाख रुपैयाँ लगेको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले पनि स्थापना दिवसको नाममा एक लाख रुपैयाँ लगेको छ । नवलपुरको सामुदायिक रेडियो मध्यविन्दुले पनि एकलाख रुपैयाँ लगेको छ । मध्यविन्दुले सुशासन प्रबर्द्धनका लागि विभिन्न सरकारी एवम गैरसूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने भनेर रकम लगेको हो ।
नेपाल बार एसोसिएसन तथा गण्डकी प्रदेश समन्वय समितिलाई पनि पोखरेलले कार्यालयको फर्निचर किन्न भनेर एकलाख रुपैयाँ दिने निणर्य गरेका हुन् ।

सायरा मिडिया एन्ड इभेन्ट्स प्रालिलाई नेतृत्व विकास, क्षमता विकास, उद्घोषक तथा प्रभावकारी सञ्चार सम्बन्धी तालिम चलाउन भनेर एक लाख रुपैयाँ दिइएको खुलेको छ । नेपाल प्रेस युनियनको गत साउन ६ र ७ गते हेटौँडामा सम्पन्न महाधिवेशनमा सहभागी हुनका लागि आवतजावत खर्च भनेर प्रेस युनियन कास्कीले एकलाख रुपैयाँ लगेको छ ।

नेपाल पत्रकार महासंघ नवलपुरले तिज कार्यक्रमको नाममा एकलाख रुपैयाँ लगेको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ, पृथ्वीनारायण क्यामप्स समितिलाई विचार गोष्ठी गर्न भनेर पोखरेलले एकलाख रुपैयाँ दिने निणर्य गरेका थिए ।

विशन क्षेत्रीले बाह्रखरीमा समाचार लेखेका छन् ।