काठमाडौं । प्रधानमन्त्री त्रिदेशीय कपको उद्घाटन खेलको पहिलो हाफमा नेपालले लाओसविरुद्ध १-० को अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा अनन्त तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाए । खेलको ३०औँ मिनेटमा नवीन लामाको कर्नरमा अनन्तले ‘हेडर’ मार्फत् बललाई जाली चुमाउँदै नेपाललाई अग्रता दिलाएका थिए ।
त्यसअघि खेलको तेस्रो मिनेटमा लाओसका बोउन्फाचन बोउकोङले बक्स बाहिरबाट गरेको प्रहार बार माथिबाट बाहिरिएको थियो । १८औँ मिनेटमा एरिक बिस्टले राइट साइडबाट गरेको लोअर पासलाई पुजन उपरकोटीको १८ यार्ड बक्सबाहिरबाट गरेको ‘फ्रार्स्ट टच’ प्रहार पोस्ट माथिबाट हुइँकियो ।
आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भुटान र लाओस सहभागी छन् । प्रतियोगिताका लागि एन्फाले टिकट मूल्य सामान्य प्यारापिटतर्फ ५०० र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकेको छ । प्रतियोगिताको विजेताले पाँच हजार डलर र उपविजेताले तीन हजार डलर पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै, प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ले २५० डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५०० डलर पुरस्कार पाउनेछन् ।