• फाल्गुन २७ २०८२, बुधबार

वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व अन्त्य गर्न रुससँग चिनियाँ राष्ट्रपति सीको आग्रह

चैत्र ७ २०७९, मंगलवार

एजेन्सी । रुसको दुईदिने राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्रपति सी चीनफिङ र  रुसी समकक्षी भ्लादिमिर पुटिनबीच क्रेमलिनमा भेटवार्ता भएको छ । साथै वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व अन्त्य हुनुपर्नेमा चिनियाँ राष्ट्रपतिल जोड दिएका छन् ।

दुई राष्ट्रपतिबीच चीन र रुस सम्बन्ध र आपसी हितका विषयमा गहन छलफल हुनाका साथै पारस्परिक सम्बन्ध अझ सुदृढ तुल्याउने सम्बन्धमा विचार आदानप्रदान भएको थियो ।

राष्ट्रपति सीले समकक्षी पुटिनको निमन्त्रणामा रुसको राजकीय भ्रमण गर्न पाउँदा आफू खुसी भएको उल्लेख गर्दै १० वर्षअघि आफू राष्ट्रपति निर्वाचित भएपछि आफू पहिले रुसको भ्रमणमा आएको तथा उक्त भ्रमणको सम्झना आफ्नो स्मृतिमा आज पनि ताजा रहेका बताए ।

राष्ट्रपति सीले विगत १० वर्षदेखि आफू र राष्ट्रपति पुटिन निकट सम्पर्कमा रहेको तथा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को २० औँ राष्ट्रिय अधिवेशनबाट आफू केन्द्रीय समितिको महासचिवमा पुनः निर्वाचित भएपछि रुसी नेता पुटिनले तत्काल बधाई सन्देश पठाएकामा धन्यवाद व्यक्त गरे । साथै उहाँले आफू केही दिनअघि मात्र चीनकाो राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पनि तत्काल बधाई ज्ञापन गर्नुभएकामा राष्ट्रपति पुटिनप्रति आभार व्यक्त गरे ।

चिनियाँ राष्ट्रपतिले आगामी वर्ष रुसमा राष्ट्रपतीय निर्वाचन हुने र नेता पुटिनको सबल नेतृत्वमा रुसले देशको विकासका साथै कायाकल्प गर्ने उल्लेख गर्दै राष्ट्रपति पुटिनप्रति रुसी जनताको दृढ समर्थन रहनेमा आफू विश्वस्त रहेको बताए । चीनले जहिले पनि स्वतन्त्र परराष्ट्र नीतिलाई समर्थन गर्दै आएको, चीन– रुस सम्बन्धलाई अझ सुदृढ बनाउन बेइजिङले आफ्नो मौलिक हित र विश्वको प्रचलित प्रवृत्तिका आधारमा रणनीतिक छनौट गरेको उनले स्पष्ट पारे ।

चीन–रुस सम्बन्ध आजको अवस्थामा पुग्नुमा दुई राष्ट्रबीचको ऐतिहासिक सम्बन्धको सुदृढ आधार रहेको तर्क गर्दै चीन र रुस एकअर्काका सबैभन्दा ठूलो छिमेकी एवम् रणनीतिक साझेदार भएका बताए । दुवै देशले आफ्नो समग्र कूटनीति र विदेश मामिलासम्बन्धी नीतिमा आफ्नो सम्बन्धलाई उच्च प्राथमिकतामा राखेका चिनियाँ राष्ट्रपतिले उल्लेख गरे ।

चीन रुससँगको रणनीतिक सम्बन्ध सुदृढ गर्न दृढ रहेको बताउँदै राष्ट्रपति सीले चीन र रुस दुवै राष्ट्र राष्ट्रिय विकास, विश्व बहुध्रुवतालाई समर्थन तथा अन्तरराष्ट्रिय सम्बन्धमा बृहत्तर लोकतन्त्रका लागि काम गर्न प्रतिबद्ध रहेका उल्लेख गरे ।