• मंसिर २० २०८१, बिहीबार

जनप्रतिनिधि सांसदहरुले संसदको गरिमा र महत्व कहिले बुझ्ने ?

चैत्र ५ २०७९, आईतवार

चुनाबमा राजनीतिक दलका उम्मेदवारको भाषण हुने हुन्थे-म आफ्नो ठाउँलाई स्वर्ग नै बनाइदिन्छु । जुन पनि टिपिदिउँला फुल पनि फुलाइदिउला यस्ता नारा दिएर उनीहरुले मतदाताको भोट बटुल्थे । त्यही नागरिकको भोट बटुलेर जनप्रतिनिधि बनेका सांसदहरुसँग निराश हुन पर्ने अबस्था नआउला भन्न सकिन्न ।

खासमा सांसद चुन्न भनेको नीति निर्माण गर्नका लागि बनाइएको हो । तर, सांसदहरुले बुझे या बुझेनन् आफैले जानुन । जनतालाई म विकासको काम गर्ने प्रतिनिधि होइन तपाईहरुका लागि राम्रो नीति निर्माण गर्ने कारिन्दा हो भन्न सक्नु पर्थ्यो । उम्मेदवार हुँदा जनताको मनस्थितीमा खेल्न जानेका नेताहरुले सारा काँचुली नै फेर्छु भने पनि चार महिना बित्दा पनि केही गर्न सकेका छैनन् ।

जनताले यो पटक नयाँ र पुरानालाई अबसर दिएकै हुन् । नयाँ र पुराना दुबैपक्ष पुगेपछि संसदमा अहिलेको जल्दोबल्दो विषयको उठान हुनेछ भन्ने थियो तर अपसोच सांसदहरुले सत्ताका लागि मात्रै दौडधुप गरेको देखियो । जनताले ठानेका थिए नागरिकका दुख दुःख–समस्यामा घोत्लिनेछन् । भ्रष्टाचार, दण्डहिनता मच्चाउनेलाई संसदीय कठघरामा उभ्याउनेछन् भन्ने नागरिकको आशा थियो । साथै अघिल्लो प्रतिनिधिसभाले पुरा गर्न नसकेको कार्यलाई निकास दिनेछन् । तर विहानीले दिनको सुरुवात गर्छ भने झै सत्ता राजनीतिमा रुमलिदाँ नागरिक निराश बन्दैछन् ।

सत्ता संघर्षका कारण प्रतिनिधिसभाको बैठक महिनामा एक पटक मात्रै तोक्ने परम्परा धानिरहेका छन् । हिजोको परम्परागत प्रणालीलाई सभामुख र सांसदहरुले निरन्तरता दिइरहेका छन् । अर्को तर्फ आर्थिक रूपले मुलुक संकटको भीरमा पुग्ने त्रासले अत्याइरहेका बेला सांसदहरु त्यसतर्फ चासो दिदैनन् । रातदिन खटेर ठोस परिणाम दिनुपर्ने नीति निर्माण गर्ने संसद सूचना निकाले बैठक स्थगित गर्नमा तल्लीन छ । पक्ष र प्रतिपक्षको वेञ्चको कुरा नमिलेर होस् या सत्ता संघर्षको राजनीतिक चक्रका कारण संसद निरन्तर रुपमा चल्न सकिरहेको छैन ।

उता, प्रतिनिधि सभा नियमावलीका मस्यौदाले सदनबाट वैधानिकता नपाउँदा संसदीय समितिहरू क्रियाशील हुन सकिरहेका छैनन् । संसदीय समिति नै गठन नभएपछि त्यो थलोबाट के निर्णय हुनु ? कम्तीमा यति लामो दिन संसद्का बैठक पर सार्नुको सट्टा नियमावलीलाई अन्तिम रूप दिँदै संसदीय समिति गठन प्रक्रियामा गएको भए के हुन्थ्यो ? संसदीय समिति गठन र सभापति चयनलाई त राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनले रोक्नेवाला थिएन । तर, राजनीतिक दलहरूले संसद्‍भन्दा सत्ता मात्र ध्येय बनाएपछि प्रारम्भमै संसदीय निष्क्रियता प्रदर्शन हुँदै छ । यसरी संसदलाई बेलाबेलामा काम बिहीन जस्तो बनाउने काम नहोस् । जनताको आवाजको प्रतिनिधित्व गर्दै गएका सांसदले नीति निर्माण र सरकारको काम कारबाहीका बारे‍मा खबरदारीमा ध्यान दिउन् । मुलुकले खेप्न परेको समस्या सुल्झाउन तिर सांसदहरुको ध्यान जाउन् ।

संसद तात्यो भने नागरिकहरुले सडक तताउन पर्दैन । जनताको प्रतिनिधित्व गर्ने सांसदहरुले नागरिकको समस्या राख्ने र सामाधानको उपाय खोज्ने थलोलाई ‘चिसो रिकापी’ पनि भन्ने गरिन्छ । जब जनप्रतिनिधि तात्छन् नागरिकले सडक तताउन पर्दैन । त्यसैले नागरिकहरुको आवाज बोकेर जाने थलो प्रतिनिधसभाले छिट्टै समस्याको चाङ फुकाओस् ।