काठमाडौं । छैठौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) चैत्र २ गतेबाट काठमाडौंमा शुभारम्भ भएको छ । ‘विश्व भरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नाराका साथ सुरु भएको ‘निफ’मा ३५ देशका ९५ चलचित्रहरु प्रदर्शन हुने छन् । ५० भन्दा बढी विदेशी फिल्मकर्मीले महोत्सवको उद्घाटन समारोहमा सहभागिता जनाएका थिए । महोत्सव ६ गतेसम्म चल्ने छ ।
कार्यक्रममा विशेष अतिथिका रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपालका लागि चीनका राजदुत छन् सोङ, वरिष्ठ अभिनेत्री वसुन्धरा भुषाल, निफका संयोजक यादव भट्टराई, निफका अध्यक्ष केपी पाठकले मन्तब्य राख्नु भएको थिए । फेष्टिभल उद्घाटन समारोहमा भारत, ब्राजिल, युरोपियन युनियनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भनिए पनि अन्तिम समयमा उनले असमर्थता जनाएका थिए । चलचित्रको प्रदर्शन त्तँह् सञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलबाट हुनेछन् ।
महोत्सवका प्रतियोगी चलचित्रमाथि उल्लेखित हलमा चलचित्र प्रदर्शन हुनेछन् भने सम्पूणर् सेसनहरु भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा सञ्चालित हुनेछन् ।
छैठौं निफको ‘ओपनिङ फिल्म’को रुपमा केरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन भएको छ । त्यसैगरी माथि उल्लेखित सिनेमाहलहरुमा टिकट बुकिङ खुला भएको र ‘खल्ती एप’मार्फत् टिकट बुकिङ गर्न सकिने निफले जनाएको छ ।