• मंसिर ११ २०८१, मंगलवार

शैक्षिक क्षेत्र नियमित लयमा ल्याऊ

चैत्र २ २०७९, बिहीबार

लामो समयपछि त्रिभुवन विश्वविद्यालय र त्यसका आंगिक क्याम्पसहरूमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन देशका सबै क्याम्पसमा एकै समयमा सम्पन्न हुन नसक्ने वातावरण सिर्जना हुन जाँदा कतै यसले सिंगो देशको शैक्षिक लयमा बाधा सिर्जना गर्ने त होइन भन्ने आशंका उब्जाएको छ ।

चैत्र ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनले विद्यार्थीको हक, हितका साथै अधिकारका लागि आवाज बुलन्द गर्ने विद्यार्थीको आधिकारिक निर्वाचित संस्थालाई नवीकरण गर्नुका साथै शैक्षिक जगतमा देखिएका ढिलासुस्ती र समस्या समाधान गर्नका लागि सहयोग पनि पु¥याउने देखिन्छ ।

लामो समयसम्म जमेको पोखरी सफा गरिएपछि त्यसमा शुद्धता आउँछ । शुद्धता र स्वच्छताले केही गति, सरसता र जाँगर तथा उत्साह पनि पैदा गर्छ नै ।

यसअघि फागुन २८ गते स्ववियु निर्वाचनको तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत ५ गते गर्ने गरी त्रिवि कार्यकारी परिषद्ले यो मिति अनुमोदन गरेको हो ।

यही अनुमोदित र घोषित मिति अनुुसार त्रिवि अन्तर्गत रहेका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियुको निर्वाचन सम्पन्न हुनु पर्छ ।

तर पनि कतिपय क्षेत्रगत र स्थानीय समस्या तथा विशिष्टताका कारण सम्बन्धित सबैमा स्ववियु निर्वाचन हुन नसक्ने देखिएको छ । ती क्याम्पसहरूमा आन्तरिक विवाद चुलिएपछि निर्वाचन अनिस्चित बन्न गएको छ ।

यसले गर्दा स्ववियु निर्वाचनको चटारो र समस्याले त्रिवि अन्तर्गतका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा निरन्तरता पाइरहने छ । यसले देशैभरका विद्यार्थी जगतमा असर पारिरहने हुन्छ ।

तत्काल हेर्दा ३ दिनपछि सुदूरपश्चिम विश्वविद्यालय मातहतका क्याम्पसहरूमा स्ववियु निर्वाचन हुने भनिए पनि यसले समस्या भने निम्त्याइहने देखिन्छ ।

पहिलो कुरा त लामो समयसम्म स्ववियु अनिर्वाचित रहँदा निम्तिएका समस्या आफैमा जटिल बनेर देखा परिरहेका छन् । यसले हरेक विद्यार्थी संगठनमा असर पारिरहेको छ ।

स्ववियुमा भइरहेको अद्यावधिक अनियमितताले विद्यार्थी संगठन आन्तरिक अन्तरविरोधमा फसिरहेका छन् । सबैभन्दा छिटो बदलिने र छिटो परिवर्तनको अनुभूति गर्ने चाहना राख्ने युवा जगत नै विद्यार्थी हो ।

त्यसैले पनि विद्यार्थी संगठनले आफ्नो नेतृत्व यथासमयमै परिवर्तन भएको देख्न चाहन्छ । हाल स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागु गरिएपछि नयाँ र युवा अनुहार नेतृत्व तहमा देखिने भएको छ ।

यसले नयाँ पिँढीमा आशाको दियो बालेको छ । तथापि स्ववियु निर्वाचन देशैभर एकैपटक भने हुन नसक्दा कतै लम्बिने र झन्झट खडा पो हुने हो कि भन्ने आशंका भने अहिले कायमै छ ।

तर देशको ओह्रालो लागिरहेको शैक्षिक अवस्थालाई अबका दिनमा एउटा निरन्तर प्रगतिको लयमा ल्याउनु जरूरी भइसकेको छ । यसका लागि सम्बन्धित सबै बेलैमा सचेत र जागरूक हुनु जरूरी भइसकेको छ ।