• मंसिर १२ २०८१, बुधबार

पलायो आशा : नेपालका आरिफले बनाए अर्धशतक

चैत्र २ २०७९, बिहीबार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालका मध्यक्रम ब्याटर आरिफ शेखले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले प्रस्तुत गरेको ३११ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट आरिफले ६० बलमा अर्धशतक पूरा गरे । ५० रन पूरा गर्ने क्रममा आरिफले दुई चौका प्रहार गरे ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आरिफको यो पाँचौ अर्धशतक हो । आरिफअघि नेपालबाट भीम सार्की र ओपनर कुशल भुर्तेलले पनि अर्धशतक बनाएका थिए । कुशल ५० रन बनाएर आउट हुँदा भीम ६७ रनमा पभेलियन फर्किएका थिए ।

कुशल र भीमले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । यस्तै, आरिफले पाँचौ विकेटका लागि भीम सार्कीसँग ८३ रनको साझेदारी गरेका थिए । ३११ रनको लक्ष्य पछ्याइरहेको नेपालले अहिले ३९ ओभरको खेल सकिँदा पाँच विकेट गुमाएर २२५ रन बनाएको छ ।

यसअघि, नेपालले ओपनर आसिफ शेखलाई व्यक्तिगत स्कोर शून्यमा, कुशल मल्ललाई पाँच रनमा, कप्तान रोहितकुमार पौडेललाई १६ रनमा र कुशल भुर्तेललाई ५० रनमा गुमाएको थियो । त्यसअघि टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रनको योगफल खडा गरेको थियो ।