काठमाडौं । आइसीसी विश्वकप त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत बुधबार भएको खेलमा यूएईले पपुवा न्यु गिनीलाई ६ विकेटले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेर पीएनजीले दिएको २३५ रनको लक्ष्य युएईले कप्तान मुहम्मद वासिमको कीर्तिमान शतकको मद्धतमा ४ विकेट गुमाउँदै ६८ बल बाँकी रहेको अवस्थामा भेट्टाएको हो।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रनको योगफल तयार पारेको थियो।
आज पीएनजीसँग खेलेको यूएईले बिहीबार नेपालसँग अन्तिम म्याच खेल्नेछ। पीएनजीलाई फराकिलो अन्तरले हराएपछि यूएई उत्साहित भएको छ।
यद्यपि उसले एक दिवसीय मान्यता गुमाइसकेको छ। यस्तोमा एक दिवसीय मान्यता जोगाइसकेको नेपालसँग यूएई बिहीबार कीर्तिपुर मैदानमै भिड्नेछ। बिहीबारको खेलमा नेपालले विजयी हुँदै आइसीसी विश्वकप छनोट खेल यात्रा तय गर्ने योजना बनाएको छ।